arrow

नेकपामा पेलेर एकता ? 

धेरै पेल्दा विश्वासिला पात्र बामदेव गौतम टाढिएको पत्तो नपाएका ओली तथा सशस्त्र द्धन्द्धका सहयात्रीहरु बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्र विक्रम चन्द विप्लवलाई गुमाइसकेका प्रचण्ड भुक्तभोगी हुनुपर्ने थियो

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
nekapa.JPG

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकताको ११ महिना बितेको छ । ११ महिनाअघि अर्थात् गत वर्षको जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । 

पार्टीको नाममै लामो समय अड्किएर कहिले निर्वाचन आयोग र कहिले सर्वोच्च अदालतसम्मै परेको मुद्धा अन्ततः छिनोफानो भएर कोष्टभित्रको (नेकपा) बनेको थियो । 

जेठ ३ गते एकता हुँदा ३ महिनाभित्र स्थानीय तहदेखि केन्द्रसम्म एकता गर्ने भनिएको थियो । तर चुनावी एकता र सत्ता एकताले फुर्सद नभएपछि अब एक वर्ष पनि काट्ने छाँट आएको छ । 

तर नेकपाका नेताहरु भने नेकपाको स्थापना दिवस बैशाख ९ गते नै सम्पूर्ण एकता गर्ने भन्नेतिर लागेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालले पहिलेदेखि नै गुटबन्दी बनाए । 

झलनाथ खनाल, रामबहादुर थापा बादल र बामदेव गौतमले पनि सानो झुण्ड बनाएर खेलाइरहे । विशेषगरी ओलीले आफ्नो हैकमी पाल्दा यो अवस्था आएको नेकपाभित्रकै नेताहरु आरोप लगाउने गर्दछन् । 

अब पेलेरै एकता ? 
समयको मागसंगै ओली र प्रचण्ड एकातिर छन् भने नेपाल अर्कातिर छन् । उनले केही समयअघि समानान्तर समिति बनाएको चर्चा पनि थियो । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् । तर ओली–प्रचण्डले सहमति नगरे पेलेरै जाने मनस्थिति बनाएको बुझिएको छ । 

पेल्नमा ओली र प्रचण्ड माहिर छन् । धेरै पेल्दा विश्वासिला पात्र बामदेव गौतम टाढिएको पत्तो नपाएका ओलीलाई कुनै पनि बेला परिस्थिति भारी हुन सक्ने देखिएको छ । प्रचण्डले पेल्ने सिद्धान्त लिएरै नेकपा माओवादी केन्द्रबाट सशस्त्र द्धन्द्धका सहयात्रीहरु बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्र विक्रम चन्द विप्लवलाई गुमाइसकेका छन् । 

होला त बैशाख ९ मा पूर्ण एकता ? 
नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । यसमा पनि कामको बाँडफाँड नभएको भन्दै नेतृत्वको चर्को आलोचना भइरहेको छ । 

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, प्रचण्ड र नेपालबीच विवाद छ । अहिले भने धेरैजसो दोस्रो र तेस्रो तहका नेताहरु बैशाख ९ गते नै पूर्ण एकता हुने दावी गरिरहेका छन् । 

तर कसरी हुन सक्छ भनेर उनीहरुले सुझाव दिन सकेका छैनन् । एकता हुनका लागि समझदारी हुनुपर्छ । त्यो हुन सकेको छैन । अनि बैशाख ३ भैसके पनि सचिवालय बैठक बस्न नसकेको अवस्थामा एकता परको विषय बनेको छ । 

समझदारी हुन बाँकी छँदाछँदै पेलेर जान खोज्ने हो भने नेता र कार्यकर्ताले कसरी निर्देशनको अवज्ञा गर्छन् भन्ने कुराको जवाफ ओलीले पाइसकेका छन् । 

ओलीले आफ्नो सरकारको आलोचना हुन थालेपछि आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई अरिंगाल बनेर प्रतिकार गर्न निर्देशन दिएका थिए । तर कोही अरिंगाल बन्न रुचाएन । के ओली अझै पनि सुध्रने सम्भावना छैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ