arrow

एचआइभीले दिएको पीडा

logo
विमलबहादुर विष्ट,
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
hivs.jpg

डोटी । दीपायल सिलगढी नगरपालिकाका १८ वर्षीय रामबहादुर (नाम परिर्वतन) काम खोज्न साथीभाइसँगै छिमेकी मुलुक भारतको मुम्बै शहर पुगे । यो २०५१ सालतिरको कुरो हो । विपन्न परिवारका उनि केही वर्ष काम गरेर घर फर्किए र यहीँ घरजम गरे। केही समयपछि फेरि मुम्बैतिरै हानिए। बेलामौकामा घर फर्किदै गरेका उनि केही वर्ष मुम्बैमै बसे । भर्खरै बिहेवारी भएका उनि घरको याद भुलाउने बहानामा अपरिचित नारीसँग पटक पटक असुरक्षित यौन सम्पर्क गर्न थाले । कुनबेला एचआइभीले गाँजिसक्यो  पत्तै भएन ।

मुम्बैमा सङ्क्रमित भएर घर फर्किएका रामबहादुरले पत्नी सबिना (नाम परिवर्तन) लाई पनि यो महारोग सारे। गाउँमा हिँड्दै डुल्दै गरेकी सबिनाले आफूमा एचआइभी सङ्क्रमण हुनसक्छ भन्ने कल्पना समेत गरेकी थिइनन् । दुई वर्ष पहिला घर्किदो उमेर र बिग्रँदो स्वास्थ्य लिएर उपचार गराउन जिल्ला अस्पताल डोटीमा पुगेकीसबिना आफू यो रोगले गाँजिसकेको थाहा पाएपछि छाँगाबाट खसेजस्तै भइन्  ।

सबिनाले रामबहादुरलाई पनि जिल्ला अस्पताल डोटीमै एचआइभी जाँच गर्न सल्लाह दिए पनि उनि कैलालीको सेती अञ्चल अस्पताल गए। जाँचबाट रामबहादुर मात्र होइन २२ वर्षीय छोरा शुभम, आठ वर्षीया छोरी रन्तीतामा पनि एचआइभी पोजेटिभ देखियो । रामबहादुरका पाँच सदस्यीय परिवारमा चार जना सङ्क्रमित रहेपछि परिवारमा निराशा छायो । बाँकी घरमा रहेकी बुहारी लालीलाई जिल्ला अस्पतालमा जाँच गर्न पठायो । उनि पनि सङ्क्रमित भएको रहेछ ।

जिल्लामा एचआइभी सङ्क्रमण विशेष गरी कामको सिलसिलामा भारत जानेहरुमा बढी पाइएको र उनीहरु मार्फत बच्चा र श्रीमतीलाई समेत सर्ने गरेको स्वास्थ्यकर्मीहरुको दाबी छ । रामबहादुरको सिङ्गै परिवार एचआइभी सङ्क्रमित भएको भए पनि एआरटी परामर्श केन्द्रको सम्पर्कमा हाल नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका एआरटी काउन्सिलर केपी रेग्मीले बताए ।

उनले भने – “डोटी जिल्लामा सङ्क्रमित हुनेमा विवाहित जोडीहरु नै बढी छन् तर, तिनीहरु सम्पर्कमै आउँदैनन् ।” जिल्ला अस्पताल डोटीको पछिल्लो तथ्याङ्क अनुसार जिल्लाभरिमा कुल ९८० जना एचआइभी-एड्सबाट प्रभावित रहेका छन् । उक्त रोगबाट कम्तीमा पनि १०० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ५७० र महिला ३६० महिला रहेका छन् । बाँकी चौध वर्षमुनिका बालबालिका छन् । डोटीमा एचआइभी-एड्सबाट बढी प्रभावित हुने साबिकका १३ गाविस र एक नगरपालिका रहेको एचआइभी-एड्सको क्षेत्रमा काम गर्ने संस्थाहरुले जनाएका छन् । अहिलेसम्म एचआइभी-एड्सका कारण मृत्यु हुने १०१ जनामा ६६ जना पुरुष र ३५ जना महिला छन् ।

सङ्क्रमित भइसके पछि उपचारमा लापर्वाही गर्ने गरेकाले पुरुषहरुको मृत्यु दर बढेको एआरटी काउन्सिलर रेग्मीले बताए । उनले भने – “महिलाहरु समय मै उपचार गर्छन् । त्यसैले मृत्युदर पनि कम छ तर, पुरुषहरु खास वास्ता गर्दैनन् । मृत्यु हुनेमा पनि पुरुषको सङ्ख्या नै धेरै छ ।” रोग प्रतिरक्षा प्रणाली अत्यन्त न्यून भइसकेको  अवस्थामा अधिकाँश पुरुषहरु अस्पताल आउने गरेको काउन्सिलर रेग्मीको अनुभव छ । एचआइभी प्रभावित व्यक्तिहरुमध्ये हाल जिल्ला अस्पतालको एआरटी शाखाबाट ५१८ जनाले एआरटी प्रयोग गरिरहेका छन् । एचआइभी- एड्स सङ्क्रमित (प्रभावित) सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमध्ये डोटी तेस्रो स्थानमा आउँछ । सुदूरपश्चिमको सबैभन्दा प्रभावित भई एआरटी औषधि प्रयोग गर्ने जिल्लामा कैलाली पर्दछ भने दोस्रोमा अछाम पर्दछ ।

एचआइभी-एड्सबाट प्रभावित व्यक्तिहरुले अहिलेसम्म जिल्ला अस्पतालबाट मात्र एआरटी सेवा प्रयोग गरिरहेका छन् । आगामी दिन जिल्लाका अन्य गाउँपालिकाका स्वास्थ्य चौकीबाट समेत एआरटी औषधि वितरण कार्य हुने जिल्ला अस्पताल डोटीका डा भूषण मिश्रले बताए । उनले भने – “जिल्लामा मात्रै एआरटी शाखा भएकाले सङ्क्रमित आउन थालेका छैनन् । अब हामी जिल्लाका सबै स्वास्थ्य चौकीबाट नै एआरटी खाने व्यवस्था मिलाउँदै छौँ ।”

एचआइभी सङ्क्रमित भई भारतबाट घर फर्केकाहरुसमेत उपचारपछि पुनः काम गर्न भारत जाने गर्न थालेका छन् । केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्ष्यित कार्यक्रममा तालीम लिएर आयमूलक व्यवसायमा सक्रिय हुन थालेका  छन् भने केही समाजको डरले गाउँघरमै रोग लुकाएर बसिरहेका छन् । समग्रमा सुदूरपश्चिम प्रदेशमा छ हजार ७२४ जनामा एचआइभी सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायल राजपुरका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म सुदूरपश्चिम क्षेत्रभर तीन हजार ७६ जनाले एआरटी सेवन गरिरहेका छन् । “आर्थिक वर्ष २०७४-७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआइभी-एड्सबाट ज्यान गुमाइसकेका छन,” जनस्वास्थ्य अधिकृत मलासीले भने – “यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित देखिएका छन् । वर्षेनी एचआइभी रोगीहरु बढिरहेका छन् ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेका छन् । स्थानीय सरकारले सुदूरपश्चिम प्रदेशका एचआइभी सङ्क्रमितहरुलाई सहयोग गर्न नसकेको सङ्क्रमितहरुले गुनासो गरेका छन् ।

एचआइभी सङ्क्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो भए पनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग गरेको नदेखिएको आरोप लगाउनुभयो ।

स्थानीय सरकारसँग सहयोगको प्रस्ताव लिएर जाँदा डलरको खेती गर्न सक्ने भन्ने ओठे जवाफ पाएको उनिले सुनाउनुभयो । “हामी त सङ्क्रमित भईसकेका छौं अब हाम्रो लागि नभए पनि हाम्रा छोराछोरीको भविष्यका लागि भए पनि स्थानीय सरकारले सोच्नुपर्छ,” उनले भने – “सरकारले सङ्क्रमितलाई बचाउन विशेष कार्यक्रम ल्याउनु पर्छ ।” यति मात्र नभई डोटीमा कतिपय एचआइभी सङ्क्रमित एकल महिलालाई आफू र बालबच्चा कसरी हुर्काउने भन्ने ठूलो चिन्ता छ । यहाँका एचआइभी सङ्क्रमित महिलालाई साँझ बिहान हातमुख जोड्न पनि धौ धौ छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ