arrow

अब जनता भोकले मर्दैनन् : प्रधानमन्त्री

असार अगावै विस्थापितलाई छानामुनि ल्याउने प्रतिबद्धता

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
babai-break-thrue.jpg

काठमाडौ् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने बताएका छन् ।  “दुई वर्षभित्रै हुम्लामा मोटरबाटो पुर्‍याउँछौँ, चीन सरकारसँग उत्तरी नाका सञ्चालनका लागि सम्झौता कार्य अघि बढाइएको छ”, उनले भने, “अब नेपालमा गरीबी रहन दिँदैनौँ, पछ्यौटेपन रहन दिँदैनौँ, कोही पनि जनता भोकले मर्दैनन् ।”

 भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले २०७१ सालको बाढीबाट विस्थापित सुर्खेतका एक हजार परिवारलाई असार अगावै पालबाट छानामुनि ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

 यस कार्यका लागि प्रदेश र स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै  प्रधानमन्त्रीले ६० केन्द्र र ४० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए । प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेर जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने बताए ।

उनले देशको अर्थतन्त्रलाई छिटोभन्दा छिटो परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे । राष्ट्रिय गौरवको यस आयोजनालाई प्रदेश, स्थानीय र सङ्घीय सरकारको ‘मित्रताको कार्यक्रम’ को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले प्रदेश नं ५ र कर्णाली प्रदेशका लागि यो आयोजना सद्भाव र समझदारीको नमूना हुने बताए । उनले भने, “अन्तर प्रदेश र स्थानीय तहबीच पारस्परिक सहयोग जरुरी छ ।”

उनले नेपालको बजेट, आवश्यकता, अमेरिकी प्रविधि र चिनियाँ कम्पनीको लगनशीलताका कारण तोकिएको समयभन्दा एक वर्षअघि नै सुरुङ निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गरे । प्रधानमन्त्रीले सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ (टिबिएम) बटन थिचेर ‘ब्रेक थ्रू’ गरे ।

 गत वर्ष आफूले रारामा हात समाएर भर्ना गरेकी बालिका कक्षामा पहिलो भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोही पनि बालबालिका विद्यालय बाहिर रहन नहुने बताए । “विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गर्न पार्टी कार्यकर्ता, कर्मचारी, सरोकारवाला सबैको कर्तव्य हुनुपर्छ”, उनले भने, “अहिलेको युगमा निरक्षर बस्न हुँदैन ।”

चिनियाँ निर्माण कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि र परामर्शदाता कम्पनी जियोडाटा इञ्जिनीयरिङ एसपिए इटाली र सिडेक नेपालका प्रतिनिधिलाई प्रधानमन्त्री प्रशंसापत्र प्रदान गरे । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको थियो । बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै भेरी किनारको चिप्लेमा आइपुगेको मेशिन प्रधानमन्त्रीले ब्रेक थ्रु गरेका हुन् ।

सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ साल चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माण कार्य एक वर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए । सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेशिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यसअघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो ।

मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेशिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र प्रदेश नं ५ का बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना शुरु भएको हो । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ