arrow

‘बुद्ध एयर भन्नेले गर्नु गर्दा’ सरकारका प्रवक्तालाई कति घाटा लाग्यो ?

रिसोर्ट बसाइमा कति खर्च गरे ? 

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
gokul-baskota-buddha-air.JPG

काठमाडौं । प्यूठानको गौमुखी गाउँपालिकामा मिडिया सम्मेलन उद्घाटन गरेर भैरहवा हुँदै काठमाडौं फर्कन लागेका सरकारका प्रवक्ता, सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटा सोमबार राति भैरहवामै बास बसे । 

आफ्नै दोधारे निर्णयले अल्मलिएका मन्त्री बास्कोटाले मंगलबार पत्रकार सम्मेलन गर्दै, आफु अलपत्र परेको गुनासो गरे । उनले प्रश्न गरेः उडाउँछु भनेर यात्रुलाई अलपत्र पार्ने? 

मंगलबार बिहान प्रेस चौतारीले मणिग्राममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ’बुद्ध एयर भन्नेले गर्नुगर्यो, शुरुमा प्लेनले निकै ढिला गर्यो, ढिला भएपछि क्यान्सिल गरेर होटल पुग्यौं । जहाज आएपछि जान्छौं भन्दा जानकारी नै नदिई जहाज काठमाडौं उड्यो भनियो । नयाँ वर्षमा लुम्बिनी जस्तो पर्यटकीय स्थलमा यस्तो हालत छ, उडाउँछु भनेर यात्रुलाई अलपत्र पार्ने ?’

तर मन्त्री बास्कोटाको आरोपको बुद्ध एयरले विज्ञप्ती निकालेरै खण्डन गरेको छ । बुद्ध एयरले भनेको छ, मन्त्रीका लागि ३०–३५ मिनेट कुरेर बस्दा उडान नहुने अवस्था आउँथ्यो र अरु ६८ यात्रुले सास्ती भोग्नुपथ्र्यो । 
बुद्ध एयरको सोमबार काठमाडौं–भैरहवाको उडान नं ८५७ ले ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीका कारण बेलुका ७ बजे उडान भरेर ३२ मिनेटमा भैरहवा पुगेको थियो ।

भैरहवा विमानस्थलका कर्मचारी र प्रहरीको टोलीलाई मन्त्री र उनको टोलीले वैशाख ३ गते मंलगबार बिहान मात्रै फर्किने गरी बास बस्न गएको जानकारी दिए । 
 
मन्त्री र उनको टोली नफर्किने जानकारी पाएपछि बुद्धले अरु ६८ यात्रुलाई बिमानमा राख्यो । विमान उड्न करीब आधा घण्ठा बाँकी रहँदा सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर मन्त्री र उनको टोली होटल टाइगर प्यालेस रिसोर्टबाट हिंड्नै लाग्यो, विमान रोक्नू भने । 

मन्त्री बास बस्न लागेको रिसोर्टबाट विमानस्थलको दुरी २० देखि २५ मिनेटको थियो, सहज रुपमा फर्किएको भए । तर उनलाई कुर्दा मौसमी कारणले विमान भैरहवामै बस्नु पर्ने अबस्था आउँथ्यो र ६८ यात्रु अलपत्र पर्थे, बुद्ध एयरले विज्ञप्तीमा भनेको छ ।

मंगलबार बिहानको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस्ता एयरलाइन्सले जनतालाई कति सास्ती दिएका होलान्, यस्तो पाराले कसरी पर्यटन प्रवर्द्धन हुन्छ, लेखाजोखा गर्नुस् त,’ भनेका थिए ।

रिसोर्ट बसाइमा कति खर्च गरे ? 
भैरहवाको क्यासिनो (जुवा खेलाउने) सहितको टाइगर प्यालेस रिसोर्टले सबभन्दा सस्तो कोठाको एक रातको भाडा ६४ अमेरिकी डलरदेखि १२९ डलरसम्म लिन्छ । नेपालीमा ७ हजार एकसय देखि १४ हजार ३ सय रुपैयाँसम्म । मन्त्री र उनको टोलीलाई कम्तिमा ४ वटा त चाहियो । त्यसमाथि खाजा र भोजन ।   

खासमा कति खर्च भयो मन्त्रीको एक राते रिसोर्ट बसाइमा ? टाइगर प्यालेसका इभेन्ट रिक्रिएशन म्यानेजर रनधीर यादवले, शुरुमा त मन्त्री यो होटलमै आएनन् भने । पछि, बसे नबसेको भन्न मिल्दैन भने । खर्च कति गरे भन्ने विषयमा त झन् बोल्न मिल्दै मिल्दैन भने ।  

खर्चको हिसाब किताव चाहिन्छ भने, प्रधानमन्त्री कार्यालय र कर कार्यालयबाट पत्र लिएर आएपछि मात्रै भन्न सकिने जवाफ फर्काए । अझ यादवले त, यस्तो विषयमा समाचार नलेख्दा नै राम्रो हुन्छ भनेर पाठ समेत सिकाए । 
मन्त्री जस्तो मान्छेले आफ्नै खल्तिको रकम के खर्च गर्थे ? बाहिरी जिल्ला भ्रमणमा त भत्ता पनि पो आउँछ । आफ्नै खर्च गरेको भए सायद मन्त्रीले बुद्ध एयरसँग क्षतिपूर्ती पनि माग्लान् । बुद्ध एयरले अलपत्र पारेकै हो भने त सोधभर्ना गराउने होला नि । आफ्नै खर्च होइन भने राज्यकोषको रकम, जनताले तिरेको कर त उठाउनै पर्छ होला नि ! 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ