arrow

मोफसलमा विप्लवको वितण्डा, ठाउँठाउँमा विष्फोट र शङ्कास्पद वस्तु फेला, डिस्फोज गर्दा सेना नै घाइते  

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
sena-ghaite.jpg

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहीबार आब्हान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा कम देखिन्छ । तर शैक्षिक संस्था ठप्प छन् । सडकमा सवारी साधन कम चलेका छन् । 

पार्टी नै प्रतिवन्धमा परेकाले कार्यकर्ताहरु कतै देखिँदैनन् । मोफसलमा भने बन्दलाई मलजल गर्ने गरी र त्रास बढाउने गरी विभिन्न ठाउँमा विप्लव समूहले शङ्कास्पद बस्तु राखेको छ । केही ठाउँमा विष्फोट पनि भएको छ भने केही ठाउँमा नेपाली सेनाले बम डिस्पोज गरेको छ । 

विप्लवको प्रभाव पश्चिमी क्षेत्रमा बढी देखिएको छ । चितवनमा सिलिन्डर बम डिस्पोज भएका छन् । त्यस्तै बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले बिहान डिस्पोज गरेको छ । 

शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।

उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।     

यता, पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद बस्तु निस्कृय पार्ने क्रममा बिहीबार विहान नेपाली सेनाका अमलदार धर्म थापा घाईते भएका छन् । 

उनलाई घाइते भएपछि पोखरामा प्राथमिक उपचारपछि राजधानी ल्याइएको छ । 

आफ्ना कार्यकर्ता रिहाईको मागका लागि नेकपाले बन्द आब्हान गरेको हो । उसले प्रतिवन्ध फिर्ता लिन पनि माग गरेको छ । 

विप्लव समूहले शुक्रबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली जाने क्षेत्रमा बन्द तथा कार्यक्रम बहिस्कार गर्ने निर्णय समेत गरेको छ । 

यता, गृहमन्त्री रामबहादुर थापा बादलले भने विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको बताएका छन् । 

उनले सरकारलाई सघाउन समेत विप्लव समूहलाई आग्रह गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ