arrow

सरकारको अन्याय-अत्याचारविरुद्ध उत्रिन नेविसंघलाई देउवाको निर्देशन

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
deuba-nsu.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौँले शुक्रबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए ।

“निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसंघ जाग्नुपर्ने बेला आएको छ,” उनले भने ।

सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसंघको तदर्थ समिति गठन गर्ने बताए ।  मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ ।

कार्यक्रममा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । “नेविसंघको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति सङ्गठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,” उनले भने ।

कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई  मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । “आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसंघको सङ्गठन विस्तारमा लाग्नुपर्छ,” उनले भने ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसंघको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसंघलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए ।

नेविसंघका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा एकमा रु एक लाखभन्दा बढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसंघ उत्रनुपर्ने बेला आएको उल्लेख गरे ।

नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यले  नेविसंघको कार्यसमिति तत्काल गठन गर्न माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ