arrow

असहमतिबीच कसरी आयो कांग्रेसको विधान ?

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
pradip-poudel.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान यही बुधबार (बैशाख ११) देखि सुरु हुँदैछ । ७७ वटै जिल्लामा हुने यो अभियानले काँग्रेसले आफ्नो गुमेको साख फिर्ता गर्ने तयारीमात्र गरेको छैन पार्टीको नयाँ विधानलाई नेता तथा कार्यकर्तामाझ बुझाउने प्रयास समेत गर्नेछ । 

तर विधान भने सर्वसम्मत आउन सकेन । महासमिति बैठकको निर्णय विपरीत केन्द्रीय कार्यसमितिले बहुमतको बलमा ल्याएको विधान ‘नोट अफ डिसेन्ट’ लेखेर सहमति गरेको पक्षलाई भने वर्णन गर्न पक्कै मुस्किल हुनेछ । 

कसरी बन्यो त सहमति ? यसबारेमा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘हामीले जिल्ला जिल्लामा जागरण अभियानमा जानु पर्ने भएकोले विधानमा देखिएका केही हल हुन नसकेका विषयहरुमा फरक मत राख्दै विधान पारित गरेका छौं । विधान केन्द्रीय समितिको बहुमतले पारित गरेको हो । महासमितिले गरेको निर्णय विरुद्ध केन्द्रीय समितिले बहुमतले विधान पारित गर्यो । महासमिति केन्द्रीय समिति भन्दा ठूलो हो । महासमितिले गरेको निर्णय केन्द्रीय समितिको सर्बसम्मतिले पनि उल्ट्याउन सक्दैन ।’

सभापति शेरबहादुर देउवाले बहुमतका भरमा विधान पारित गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले ‘नोट अफ डिसेन्ट’ लेख्यो । अब कसरी जाला त यो विधान लिएर जिल्लाजिल्लामा भन्ने प्रश्न यद्यपि छ । 

विधानका सबै विषय नभइ विवादित केही विषय मात्र छन् । त्यसमा स्थानीय तहदेखि नै निर्वाचित भएर केन्द्रसम्म आउनु पर्ने र समावेशीमा एक पटकभन्दा बढी अवसर पाउन नहुने लगायतका विषयमा विमति हो । तर त्यसलाई बहुमतले खारेज गरिदियो । 

प्रदीप पौडेल भन्छन्, ‘यस विषयमा हाम्रो धारणा पहिले जे थियो अहिले पनि उस्तै छ ।’ असहमतिका बीच आएको यो विधान बुझाउँदै गर्दा नेता तथा कार्यकर्ताले कुनै सुझाव दिए भने के नेतृत्वले सुधार गर्ने ईच्छाशक्ति देखाउला ? 

काँग्रेसले तीन चरणमा गर्ने राष्ट्रिय जागरण अभियानको पहिलो चरण बैशाख ११ गतेदेखि एक महिना चल्नेछ । काँग्रेसका केन्द्रीय प्रतिनिधिलाई ७७ वटै जिल्लामा खटाइएको छ । राजनीतिक र सामाजिक गरी १५ बुँदामा काँग्रेसले अभियान थाल्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ