arrow

कांग्रेसको नयाँ विधानको प्रस्तावनामा के छ ? 

पाँच सय ९८ शब्दले बुनिएको प्रस्तावनामा एकमात्र पूर्णविराम 

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
congress-flag2.jpg

काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधान तयार भएको छ । कांग्रेसको २०१७ सालको विधान संशोधनसहित तयार भएको हो । 

विधान नवौं पटक २०७५ साल फागुन १२ गते संशोधन भएको थियो । यही संशोधित विधान लिएर नेताहरु ‘राष्ट्रिय जागरण अभियान’ मार्फत गाउँगाउँ जाँदैछन् । 

नयाँ विधानको प्रस्तावनामा कांग्रेसको इतिहास र प्राप्त उपलब्धिमा खेलेको भूमिकाबारे जानकारी गराइएको छ । 

यस्तो छ प्रस्तावना –
‘जननायक विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भई वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसकाबीच सम्पन्न एकीकरण पश्चात् नेपाली कांग्रेसको नामबाट सङ्गठित र सञ्चालित यस पार्टीले सशस्त्र आन्दोलनद्धारा जहानियाँ राणा शासनको अन्त्य गरी वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना गरेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै;
नेपाली नागरिकको स्नेह एवं विश्वासको जगमा निर्मित वीर शहीदहरुको रगतले सिञ्चित क्रान्तिकारी पार्टीका हैसियतले नेपाली कांग्रेसका नेता सुवर्ण शम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको वि.सं. २०१५ सालको प्रथम संसदीय आम निर्वाचनमा दुई तिहाइभन्दा बढी मतबाट विजयी भई सरकार गठन गर्ने सुअवसर प्राप्त यस पार्टीले जनहितका लागि काम गरिरहेको अवस्थामा, वि.सं. २०१७ साल पुस १ गते तात्कालीन राजाबाट प्रजातन्त्रको बलात् अपहरण भएपश्चात् वि.सं. २०४६ सालको अन्त्यसम्म प्रतिबन्धित रुपमा रही प्रजातन्त्र पुनःस्थापनार्थ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध वि.सं.२०४२ सालको सत्याग्रह र राजनीतिक अभियान तथा सबै आन्दोलन समेतको अनवरत सङ्घर्षलाई सम्झना गर्दै; 
वि.सं. २०४६ सालमा नेपाली कांग्रेसको आह्वान र सर्वमान्य नेता गणेशमान सिंहको नायकत्वमा तात्कालीन राजाको निरङ्कुशता र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा शान्तिपूर्ण जन–आन्दोलन गरी प्रजातन्त्रको पुनःस्थापना गर्न सफल भएपश्चात् नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रुपमा पुनस्र्थापित गर्नाका साथै संवैधानिक राजतन्त्र, मानव अधिकार, संसदीय शासन प्रणाली र बहुदलीय व्यवस्थालाई प्रत्याभूत गर्न सफल भएको इतिहासलाई स्मरण गर्दै;
नेपाली काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले नेतृत्व गर्नुभएको सरकारले वि.सं.२०४७ सालमा, संवैधानिक राजतन्त्र र बहुदलीय शासन व्यवस्था सहितको संविधान जारी गरी सो संविधान अन्तर्गत तीनवटा संसदीय आम निर्वाचन, दुई वटा स्थानीय निकायको निर्वाचन गरी प्रजातन्त्र सुदृढ हुँदै गैरहेको र जनहितका कार्यहरु भैरहेको अवस्थामा वि.सं.२०५९ सालमा शुरु भएको राजाको प्रतिगामी कदमबाट संसदीय शासन प्रणाली र बहुदलीय प्रजातन्त्र लगायतका संवैधानिक व्यवस्थाहरु क्षतविक्षत बनाइएपछि, नेपाली कांग्रेसको आह्वानमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजाको प्रतिगमनका विरुद्ध नागरिकको सर्वोच्चता स्थापित गराउन संचालन भएको संघर्षलाई निरन्तरता दिँदै, देशका राजनीतिक दलहरुसंग समन्वय गरी संचालन भएको वि.सं.२०६२–०६३ सालको शान्तिपूर्ण संयुक्त जनआन्दोलनद्धारा संसद् पुनःस्थापना गरेको गौरवमय कीर्तिमान र तत्पश्चात् गिरिजाप्रसाद कोइरालाकै प्रधानमन्त्रीत्वमा बनेको सरकारको नेतृत्वमा प्रारम्भ भएको शान्तिपूर्ण प्रक्रिया र संसद्ले नेपालको अन्तरिम संविधान २०६३ जारी गरी सार्वभौमसत्ता र राजकीयसत्ता पूर्णरुपले नागरिकमा स्थापित गरेको ऐतिहासिक घटनालाई स्मरण गर्दै;
नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच भएको एकीकरणपश्चात् वि.सं.२०६४ साल असोजमा बी.पी. स्मृति भवन, बीपीनगर, सानेपा, ललितपुरमा भएको महासमितिको बैठकले देशमा संघीय गणतन्त्रात्मक राज्य संरचना एवं बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न गरेको निर्णय र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन गरी गणतन्त्र कार्यान्वयनको लागि वि.सं.२०६५ साले जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक उपलब्धिप्रति गर्व गर्दै; 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचन, स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न गरी नागरिकका आकांक्षा अनुरुप बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै; 

नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि मौलिक रुपमा नेपालको सन्दर्भमा प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि देखाएको प्रतिवद्धता र यस पार्टीका नेता एवं कार्यकर्ताले गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता दिन बलिदान हुने एवं हिंसात्मक द्धन्द्धको बेलामा समेत पार्टी सिद्धान्त र मुलुकमा स्थायी शान्तिका निमित्त जीवन उत्सर्ग गर्ने श्रद्धेय वीर शहीदहरुको शहादतलाई सम्मान गर्दै; 

राष्ट्रियता र लोकतन्त्रको संरक्षण र संवद्र्धन गर्दै लोकतान्त्रिक समाजवादको आदर्श अनुरुप समानुपातिक समावेशी सिद्धान्तका आधारमा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा स्थापित गरी राजनीतिक, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले नेपाली कांग्रेसलाई एकताबद्ध, सुसङ्गठित र नेतृत्वदायी राजनीतिक दलका रुपमा सञ्चालन गर्नका लागि, नेपाली कांग्रेसको विधान, २०१७ लाई समसामयिक, व्यावहारिक र वैज्ञानिक बनाउन वाञ्छनीय भएकोले, २०७५ मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकबाट केन्द्रीय कार्यसमितिलाई प्रत्यायोजित अधिकार बमोजिम महासमितिको बैठकमा प्राप्त सुझाव समेतका आधारमा केन्द्रीय कार्यसमितिको २०७५ फागुन १२ गतेको बैठकबाट स्वीकृत भई संशोधन सहित यो विधान लागू भएको छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ