arrow

राष्ट्रपति भण्डारी बिआरआई बैठकमा सहभागी (पूर्णपाठ)

logo
सुरेन्द्रबहादुर नेपाली,
प्रकाशित २०७६ वैशाख १३ शुक्रबार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चीनफिङले शुक्रबार यहाँ प्रमुख मन्तव्य दिँदै अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरम आरम्भ गरेका छन्  । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा भाग लिएकी छन् ।

समारोहमा चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिसिएटिभमा उच्च गुणस्तरको दिगोपनाका आधारभूत संरचना, जोखिम सहन सक्ने क्षमता, उचित मूल्य, समावेशीपना तथा पहुँच हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका साथै अन्य मुलुकका सरकार प्रमुखहरुले पनि आफ्नो धारणा राखेका थिए ।

सम्बोधनको पूर्णपाठ
२६ अप्रील २०१९, बेइजिङ
बेल्ट एण्ड रोड सहयोगः एक उज्ज्वल साझा भविष्यको निर्माण

जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ्ग,
महामहिमज्यूहरु,
महिला तथा सज्जनवृन्द,

मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्बोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको छु।

यस महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यानो आतिथ्य प्रदान गर्नु भएकोमा म महामहिम सी चिनफिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। जनगणतन्त्र चीन स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाइ ज्ञापन गर्न चाहन्छु ।
विश्व आज गम्भीर परिवर्तनको मोडमा छ। संसारका धेरैजसो भागमा गरिबी घटेको छ, स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ र धेरै अर्थतन्त्रहरु समृद्ध बन्दै गइरहेका छन्। अभूतपूर्व स्तरको प्राविधिक क्रान्तिले संभावनाहरुको ढोका खोलिदिएको छ।

आपसी सहयोग नभएको भए ती उपलब्धिहरु सम्भव हुने थिएनन्। आपसी सहकार्य विना ती सफलताहरु सोच्न सकिने थिएनन्।

यसका बाबजुद नयाँ तथा पुराना चुनौतीहरु स्पष्ट रुपमा देखा परेका छन्। सम्पत्तिको असमान वितरण व्याप्त छ। धेरैका लागि विकासका प्रतिवद्धताहरु पूरा भएका छैनन्। करोडौं मानिसहरु गरिबीको अमानवीय चक्रमा बाँधिएका छन्।

सहयोग र सहकार्यको जगले नै संदेहको सामना गरिरहेको छ। संरक्षणवाद र एकांकी प्रवृत्तिहरु सतहमा आइरहेका छन्। यस प्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धिहरुलाई संकटमा पार्ने मात्र नभई भावी पुस्तालाई समेत अन्यायमा पार्नेछ। विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्नसक्छ भन्ने कुरा हामीले स्वीकार गर्नु पर्दछ।

तसर्थ, विविध चुनौतीहरुको बढोत्तरीले कम होइन अझ बढी सहकार्यको माग गर्दछ। सम्पन्न हुन बाँकी विकासले कम होइन अझ बढी आपसी सहयोगको माग गर्दछ। उज्ज्वल र अझ राम्रो भविष्यको खोजले कम होइन अझ बढी कनेक्टिभिटीको माग गर्दछ।

एशिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो। समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अवस्थामा छ। धेरै समृद्ध सभ्यताहरु भएकोले एशियाको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्दछ।

बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सी को दूरदृष्टिले विशाल संभावना बोकेको छ। यो सहकार्य, सहयोग र सम्पर्कको लागि एक महत्वपूर्ण फ्रेमवर्क हो।

आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्बीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो।

यसले कनेक्टिभिटीको प्रबर्द्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशहरुमाझ विभिन्न क्षेत्रहरुमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ।

यसले एकाङ्कीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रबर्द्धन गर्दछ।

विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव  रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ।

साथै, विकासको फलबाट कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक संयन्त्र हो।

नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ। बढ्दो कन्क्टिभिटीसंगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ।

नेपाल-चीन सीमापार रेलवे लगायत हिमालय वारपार बहुआयामिक कनेक्टिभिटीको विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशहरुसंग समेत सम्पर्क सञ्जाललाई प्रबर्द्धन गर्नेछ।

लामो राजनीतिक संक्रमण पश्चात् नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेको छ। हाम्रो अबको उद्देश्य भनेको जनताको जीवनस्तरमा देखिने  गरी परिवर्तन ल्याउनु हो।

हाम्रो राष्ट्रिय चाहना 'समृद्ध नेपाल, सुखी नेपाली' को लक्ष्यद्वारा निर्देशित छ। अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुनु हाम्रो तत्कालको उद्देश्य हो। सन् २०३० अघि नै दिगो विकासका लक्ष्यहरु हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहन्छौं।

हाम्रा विकासका चुनौतीहरु सामना गर्न छिमेकीहरु लगायत अन्य मित्रराष्ट्रहरु तथा विकास साझेदारहरुसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहन्छौं।

अन्त्यमा, दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्ने तर्फ हाम्रो सामूहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोश्रो बेल्ट एण्ड रोड फोरम सक्षम हुनेछ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना व्यक्त गर्दछु।  
धन्यबाद ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ