जनताको हित र समृद्धिका लागि राजनीतिमा आए : विनोद चौधरी
प्रकाशित २०७६ वैशाख १५ आइतबार
777
Shares
काठमाडौ । नेपाली कांग्रेसका नेता एवं सांसद बिनोदकुमार चौधरीले समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा होमिएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको अन्तरक्रियामा सांसद चौधरीले राजनीतिको प्राथमिकता फेरिदै गएको सन्दर्भमा राजनीतिबाटै समृद्ध नेपाल बनाउन आफू सक्रिय रहेको बताए।
उद्योगीका रुपमा आफूले नेपालको निजीक्षेत्रलाई अहिलेको अवस्थामा ल्याउन लिएको अग्रसरताले आज नीजिक्षेत्रलाई सम्मानजनक अवस्थामा पुर्याएको भन्दै चौधरीले अब बृहत्तर जनताको हितका लागि आफू राजनीतिमा सक्रिय हुने बताए ।
‘कुनैपनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ । सबैकुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश बन्दैन । त्यसैले राजनीतिलाई जनता र समृद्धिसंग जोड्ने संकल्प मैले लिएको छु ।’, चौधरीले भने ।
विद्यार्थीहरुले राजनीतिमा आएर विवादित भएजस्तो लाग्दैन ? भन्ने प्रश्नको जवाफ दिदैं सांसद चौधरीले अन्य क्षेत्रबाट गरिने परिवर्तनको सीमा हुने तर राजनीतिबाट बृहत्तर जनताको पक्षमा काम गर्न सकिने भएकोले आफू राजनीतिमा लागेको बताए । उनले युवाहरुको उद्यमशीलता र सिर्जनाशीलताबाट नै समृद्ध नेपाल सम्भव रहेको भन्दै राजनीतिले युवाहरुलाई अवसर दिनुपर्ने उल्लेख गरे ।
त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन अध्ययन गर्ने १ हजार बढी विद्यार्थीसंग अन्तरक्रिया गर्दै चौधरीले सफल उद्योगका लागि चुस्त व्यवस्थापन आवश्यक परेजस्तै सफल राष्ट्रका लागि पनि व्यवस्थापकीय क्षमता भएको नेताको आवश्यकता रहेको बताए । सो क्रममा चौधरीले आफ्नो उद्यमी जीवनका विभिन्न पाटोहरुबारे विद्यार्थीहरुलाई अनुभव सुनाएका थिए ।