arrow

‘सरकारी जग्गा किन्नु पनि अवैधानिक नै हो’ – बालकृष्ण खाँड

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
balkrishna_khad11.jpg

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबारदेखि सुरु भएको संघीय संसदमा रचनात्मक भूमिका खेल्ने बताएका छन् । 

उनले भने, ‘नेपाली काँग्रेसलाई संसदीय प्रणालीप्रति पूर्ण विश्वास छ । हामी संसदमा अत्यन्त शालिन र भद्र तरिकाले जनताका कुरा राख्नेछौं ।’ 

नेता खाँडले भने, ‘सरकारका राम्रा काममा सहयोग गर्ने हो । तर सरकारले जहाँनेर संविधान मिच्छ र जनताको हित विपरीत काम गर्छ त्यसतर्फ खवरदारी गर्छ ।’ 

बालुवाटारको जग्गा कब्जाबारे उनले भने, ‘बालुवाटारको जग्गा पहिले सुवर्ण शमशेरको रहेको र राणाहरुको जग्गा सरकारी स्वामित्वमा गर्ने क्रममा सरकारीकरण भएको थियो । तर भूमाफियाको संलग्नतामा भएको यो कदमप्रति हामी घोर विरोध गर्छौं ।’

खाँडले भने, ‘जतिसुकै ठूला माफिया वा सरकारका ब्यक्तिहरु भए पनि त्यस्तालाई कार्वाही गर्नका लागि काँग्रेसले विशेष माग गर्दछ । यसमा भएको किनबेच पनि अबैधानिक हो ।’

नेकपाका महासचिव विष्णु पौडेलले किनेको भनिएको उक्त जग्गाबारे खाँडले भने, ‘सरकारका दुई मन्त्रीका छुट्टाछुट्टै भनाई आएका छन् । एक मन्त्रीले ठगिनु भयो र अर्का मन्त्रीले उहाँले किनेको जग्गा वैधानिक हो भन्नुभएको छ । सरकारी जग्गा किन्नु पनि अवैधानिक नै हो ।’

सरकारको कामप्रति असन्तुष्ट खाँडले वाइडबडी, बालुवाटारको जग्गा, टेलिकमको फोरजी काण्ड, टुडिखेलको जग्गा, निर्मला हत्याकाण्ड लगायतका गलत काम सरकारले गरेको भन्दै सरकारले कुनै पनि काम राम्रा नभएको बताए ।

उनले जनताले परिवर्तनको अनुभूति गर्ने कुनै पनि काम सरकारले नगरेको र गल्ती ढाकछोप गर्ने काम बाहेक अरु गर्न नसकेको बताए । 

नेता खाँडले भने, ‘प्रधानमन्त्री ज्यूले उखानटुक्कालाई सहारा लिएर सत्ता चलाउन खोज्नुभएको छ । यसले मुलुकलाई कता लैजान्छ ?’

वाइडबडीमा काँग्रेस सभापति शेरबहादुर देउवाको नाम पनि मुछिएको भन्ने सन्दर्भमा खाँडले भने, ‘पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संसदमै आफ्नो पालामा वाइडबडी खरिद प्रक्रिया अगाडि बढेको भन्नुभएको थियो । अनि संसदीय समितिले सार्वजनिक गरेको घटनालाई ढाकछोप गर्न सरकारले अर्को छानबिन समिति बनायो । खोइ त्यो समिति ?’

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ