arrow

'ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्च सबै खान थाले'

logo
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
min-bahadur-biswakarma1.png

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको आरोप कांग्रेस नेता मिन विश्वकर्माले लगाएका छन् ।  मुलुकनै सञ्चालन गरेको त्योपनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ मिलाएबापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ ।

उनले भने,‘मैले सुनेको चाहीँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’

ललिता निवासलाई मोही कायम गर्न लाखौं÷करोडौं खर्चिएका भूमाफीयाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि उनले स्पष्ट पारे । विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको अर्को गम्भिर आरोप लगाए । उनले भने,‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’

नैतिकताको आधारमा पनि विष्णु पौडेलले यो प्रकरणमा राजीनामा दिनुपर्ने उनको भनाई छ । उनले भने,‘सरकारी जग्गा हडप्न किर्ते गर्नेहरु, गैरकानूनी ढंगले सरकारी जग्गाहरु कब्जा गर्ने सबैजना दण्ड, सजायको भागीदार हुनुपर्छ ।’ समाजको रोल मोडल भएकोले विष्णु पौडेललाई यो प्रकरणमा दोब्बर, तेब्बर र विशिष्ट ढंगको सजाय गर्नुपर्ने पनि विश्वकर्माले माग गरे ।

उक्त ललिता निवासको जग्गा प्रकरणमा वर्तमान सरकारले हिजोबाट एक्कासी आफ्नो तातो खरानी प्रतिपक्षी दलतर्फ फालेको पनि उनले आरोप लगाए । उनले भने,‘यसभन्दा अघिपनि ३३ केजी सुन तस्करी प्रकरणमा अनुहार हेर्दा आफ्नै मान्छे परेपछि ओलीजीले बाजेको सेकुवा बन्द गराउनुभयो । यो सरकार अपराधीकरणलाई संरक्षण गर्नेतर्फ लागेको छ।’

उनले यो जग्गा प्रकरणमा यदि कृष्णप्रसाद भट्टराईपनि दोषी भए मरणोपरान्त दण्ड, सजाय गर्नुपर्ने बताए । उनले भने,‘किसुनजी, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी वा शेरबहादुर देउवा जो हुन्, सबैको बारेमा गहिरो छानबिन गरियोस् ।’

आफ्नो पार्टीका सभापति एवम् संसदीय दलका नेता देउवाले वार्डडबडी काण्डमा पनि ठूलो दृढ विश्वासका साथ उक्त प्रकरणमा संलग्नलाई कारबाही होस भनेर आवाज उठाउँदा उनीमाथि नै हिलो छ्याप्ने काम भएको विश्वकर्माले स्मरण गराए । उनले भने,‘अहिलेपनि सरकारले आनन्दको महशुस गर्नको लागि षड्यन्त्र र कुचेष्टा गरेको छ । देउवामाथि जसले आरोप लगाएका छन्, यसभन्दा अघिका आरोपितहरुले एकछिन सास फेर्ने कुचेष्टा मात्रै गरेका हुन् ।’

राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारले के कसरी कारबाही गर्छ ? त्यो हेर्न बाँकी छ ।’

नेता लालले अहिले मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता रहेको आरोप लगाए । उनले भने,‘सबै क्षेत्रमा माफियाहरु सक्रिय छन् । भूमाफीयाहरुको गतिविधि त झनै बढ्दो छ । भूमाफीयाहरुले सरकारी जग्गा कब्जा गरेर नीजि बनाएका छन् ।’

बालुवाटारको ललिता निवास आँफैमा ऐतिहाँसिक भएको उनको तर्क छ । उनले भने,‘सुवर्णशमशेरबाट सरकारले अधिग्रहण गरेको हो । यो जग्गाको आफ्नै महत्व र ईतिहास छ । यस्तो ईतिहास बोकेको जग्गापनि व्यक्तिको नाममा बनाएर किनबेच गर्नुमा ठूला नेताहरुको नाम आईरहेको छ । जोसकुै भएपनि अहिले शंका उत्पन्न भएको छ। उनीहरुले जनतासामू स्पष्टीकरण दिनुपर्छ ।’

अरुलाई लाग्ने कानून नेताहरुलाई पनि उत्तिकै लाग्ने सुनाउँदै सरकारी जग्गा भएको थाहा पाईपाई निजीकरण गराउने जोसुकै भएपनि आरोप प्रमाणित दोषीहरुलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने लालको भनाई छ । उनले भने,‘दोषीमाथि कारबाही हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ