काठमाडौं । नेपालको राजनीतिक इतिहासमा सम्भवत सबैभन्दा धेरै उपप्रधानमन्त्री भएको मन्त्रीमण्डल वर्तमान प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा हुने देखिएको छ । यसअघि तीनजना उपप्रधानमन्त्री भएको सरकारबाट बिहीबारबाट थप तीनजना नियुक्त भएका छन् ।
नियुक्त भएकामा उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष भीम रावल, माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी छन् । यसअघिका उपप्रधानमन्त्रीमा फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी छन् ।
नयाँ उपप्रधानमन्त्रीहरुको सपथ बिहीबारै बोलुका ४ बजे छ । उपप्रधानमन्त्रीहरुमध्ये रावलले सहरी विकास, केसीले सहकारी तथा गरिबी निवारण र मैनालीले महिला बालबालिका मन्त्रालय सम्हाल्नेछन् ।
बिहीबारै नियुक्त हुने मन्त्रीहरुमध्ये विष्णु पौडेलले अर्थ, शेरधन राईले सूचना, सञ्चार र प्रविधि, सत्यनारायण मण्डलले युवा तथा खेलकुद र आनन्द पोखरेलले पर्यटन मन्त्रालय सम्हाल्नेछन् । उनीहरुबाहेक राज्यमन्त्रीमा दामोदर भण्डारी, मन्जु चौधरी र शान्ता मानवी(राज्यमन्त्री नियुक्त भएका छन् ।