arrow

'आलु धेरै फलाएका' प्रधानमन्त्री ओलीको कार्यकालमा प्रेसमाथिको दमन दोब्बर

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
oli-pm-ncp.jpg

काठमाडौं। नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि, मुलुकमा प्रेसमाथिको दमन दोब्बर बढेकोदेखिएको छ। २०१८ को मेदेखि गत अप्रिलसम्म मुलुकमा प्रेस स्वतन्त्रासम्बन्धी १ सय ४ वटा घटना हुँदा १ सय ६० जना पत्रकार प्रत्यक्ष प्रभावित भएको फ्रिडम फोरमको अध्ययनले देखाएको छ। यो संख्या अघिल्लो एक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। २०१८ को मेसम्मको एक वर्षको अबधिमा प्रेस स्वतन्त्रता सम्बन्धी ६६ वटा घटना भएको फोरमले जनाएको छ।

गएको एक वर्षमा ३१ जना पत्रकारमाथि आक्रमण र हातपात, २८ जनामाथि दुव्र्यवहार, १६ जनामाथि समाचार संकलनमा रोक र समाचार संकलनका लागि प्रयोग गरिने सामग्री तोडफोड सहित १९ जना पत्रकारलाई ज्यान मार्ने धम्की आएको र ३ जना पत्रकार थुनामा रहेको फ्रिडम फोरमको रिपोर्टमा उल्लेख छ।

यी घटनामध्ये प्रदेश नम्बर ३ मा सबैभन्दा बढी ३९, प्रदेश २ मा २५, प्रदेश १ र कर्णाली प्रदेशमा सात सात तथा गण्डकी प्रदेश र प्रदेश ५ मा नौ नौ र सुदुर पश्चिम प्रदेशमा ८ वटा प्रेस स्वतन्त्रता विरोधी घटना भएका छन्। यो अबधिमा, पोखराका पत्रकार अर्जुन गिरी पक्राउ र उनीमाथिको मुद्दा, ललितपुरका पत्रकार राजु बस्नेत पक्राउ, बझाङका गणेश विक, सर्लाहीका पत्रकार सोम दियालीमाथिको आक्रमण, एसईई प्रश्नपत्र बाहिरिएको समाचार लेखेका जनकपुरका पत्रकार शैलेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएका घटनालाई फ्रिडम फोरमले प्रतिनिधि घटनाका रुपमा चित्रित गरेको छ। 

आलु फलाए
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आएपछि आलु धेरै फलेको विवरण दिएका छन्। सत्तारुढ नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यो वर्ष आलु उत्पादन ९ प्रतिशतले बढेको बताए। उनले भने, ‘मेरो सरकार आएपछि ९ प्रतिशत आलु धेरै फल्यो, धान मकै गहुँ पनि धेरै फलेको छ’। आलु मकै र गहुँ बढी फलाउनका लागि आफ्नो सरकारले के गर्‍यो भन्नेबारेमा चाहिँ उनले थप व्याख्या गरेनन्। 

बैठकमा उनले सार्वजनिक जग्गामा खेतीपाती गर्न समेत निर्देशन दिए। अप्रत्यक्ष रुपमा सार्वजनिक जग्गा अतिक्रमण गर्न उक्साएका ओलीले भने ‘अब तपाईँहरु फलफूल रोप्ने अभियान चलाउनुस्, आफ्नो जग्गा नभए सार्वजनिक जग्गामै भएपनि लगाउनुस्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ