arrow

कांग्रेसले आफ्नै साथी फसाउँछ, एमालेले असंख्य अपराध भएपनि जोगाउँछ’ – गुप्ता

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
jp-gupta.JPG

काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा मन्त्री बहाल रहँदै भ्रष्टाचारको मुद्दामा जेल परेका पूर्वमन्त्री जेपी गुप्ता एकैपटक नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि खनिएका छन् । 

बालुवाटार प्रकरणमा महासचिव विष्णु पौडेलको बचाउमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएलगत्तै गुप्ताले ट्वीट मार्फत काँग्रेस र नेकपाप्रति कडा अभिव्यक्ति दिएका हुन् । 

काँग्रेस छाडेर फोरम प्रवेश गरेका गुप्ता भट्टराईको कार्यकालमा बहालवाला मन्त्री रहँदै डेढ वर्ष जेल परेका थिए । तर उनले आफ्नो पूर्व पार्टी काँग्रेसमाथि रीस पोखेका हुन् । उनले भनेका छन्, “पार्टीमा लाग्ने हो भने कहिल्यै काँग्रेसमा नलाग्नू जसले आफ्नै निर्दोष साथीलाई फसाउँछ”। 

काँग्रेसमै रहँदामा भ्रष्टाचार काण्डमा मुछिएका थिए, गुप्ता । त्यहीबेला पार्टीले साथ नदिएको रीस उनले अहिले ओकलेका छन् । प्रधानमन्त्रीले बालुवाटार प्रकरणमा महासचिवको बचाऊ गरेको विषयमा पनि उनले कटाक्ष गर्न बाँकी राखेका छैनन् । उनले भनेका छन् “पार्टीमा लाग्ने हो भने एमालेमा लाग्नू जसले असंख्य अपराधका बावजुद पनि जोगाउँछ” । बालुवाटार प्रकरणमा प्रधानमन्त्रीले बोलेपछि अब कुनै छानबिनको जरुरत नरहेको पनि उनको टिप्पणी छ ।  


 काँग्रेसमाथि गुप्ताको आरोप र केही तथ्य 
२०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार बनेका गुप्ता २०५४ सालमा सञ्चार राज्यमन्त्री, ५५ सालमा सञ्चार मन्त्री, ५६ सालमा कृषि मन्त्री र ०५८ सालमा फेरि सूचना मन्त्री बनेका थिए, जो उनी काँग्रेस भएकै कारण संभव थियो त्यो बेला । उनीमाथि २०५९ मा भ्रष्टाचारको अभियोग लाग्यो । 

२०६३ को मधेस आन्दोलनपछि उनी उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा लागे, विजय गच्छदारसँगै । विजय गच्छदार बाहिरिए । पछि गुप्ताले पनि फोरम टुक्राएर फोरम गणतान्त्रिक बनाएर बाबुराम भट्टराईको सरकारमा सूचना मन्त्री बने । 

पदमै रहेको बेला बि.स. २०६८ फागुन ९ गते न्यायधीशद्वय सुशिला कार्की र तर्कराज भट्टको संयुक्त ईजलाशले गुप्तालाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै, डेढ वर्ष कैद, ८४ लाख जरिवाना र त्यति नै सम्पति जफत गर्न आदेश दियो । 

फैसलापछि उनले आत्मसमर्पण गरे र २५ प्रतिशत सजाय माफी पाउँदै जेल गए । हाल उनी राष्ट्रिय तराई मधेश अभियानका संयोजक छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ