arrow

नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लू भएको पुष्टि, युवकको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
bird-flu.jpg

काठमाडौं। नेपालमा पहिलो पटक एक जना व्यक्तिको बर्ड फ्लूका कारण मृत्यु भएको पुष्टि भएको छ। २१ वर्षीय युवकको बर्डफलूबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। नेपालमा मानिसमा बर्डफ्लू पुष्टि भएको यो पहिलो घटना हो।

गएको चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका ति युवकको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उपचारका लागि अस्पताल आएको भोलीपल्टै चैत ११ गते इन्फलुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते उपचारका क्रममा ती युवकको मृत्यु भएको मन्त्रालयले जनाएको छ। चैत १५ गते नै युवकको मृत्यु भएपनि प्रयोगशालामा परीक्षणका लागि पठाइएको नमुनाबाट के कारणले मृत्यु भएको र र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित  हुननसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

राष्टिय प्रयोगशालाले जानकारी दिन नसकेपछि थप परीक्षणका लागि नमूना जापान पठाइएको थियो। त्यसपछि यो नमूनाको नतिजा बैसाख १७ गते मंगलबार मात्रै नेपाल आएको थियो। यो नमूनामा बर्डफ्लू (एच फाइभ एन वान) भएको उल्लेख थियो।

त्यसपछि नेपालमा पहिलोपटक मानिसमा बर्ड फलु भएको् जानकारी बाहिर ल्याउने बिषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। मंगलबार नै पुष्टि भएपनि मन्त्रालयले २ दिन ढिला जानकारी गराएको छ। ती मृतकलाई के कति कारणले बर्ड फलु भएको र कुन क्षेत्रमा काम गर्ने हो भन्ने बारेमा कुनै पनि जानकारी ममन्त्रालयले दिएको छैन। यसबारे इपिडिमियोलोजी महाशाखाका निर्देशक विवेक लालसंग ३ दिनदेखि नै जानकारी लिने प्रयास भएपनि उनी  सञ्चारमाध्यमको पहुँच बाहिर नै बसे। 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभरि ८६० जना व्यक्तिमा यो भाइरसको संक्रमण भएको पाइएको छ। मानिसमा यो भाइरसको संक्रमण  ८६० जनालाई हुदा त्यसमध्ये ४५४ जना अर्थात आधाभन्दा बढी बिरामीको मृत्यु भएको तथ्यांकले देखाएको छ। सन् १९९६ मा यो भाइरस पत्ता लागेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ