arrow

प्रचण्डको मदुरो समर्थन, भेनेजुयला संकट र नेपालको प्रवृति

logo
हाम्राकुरा डेक्स,
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
prachanda-maduro1.jpg

काठमाडौं । गत जनवरी २५ मा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयला संकटको विषयमा विज्ञप्ति निकाल्दै भेनेजुयला संकटमा नेकपा राष्ट्रपति निकोलास मदुरोको पक्षमा रहेको बताएका थिए । उनको यो विज्ञप्ति अमेरिकाले विपक्षी नेता हुवाँ गुएइदोलाई राष्ट्रपतिको रुपमा स्वीकार गर्ने बताएसँगै प्रचण्डको तर्फबाट यस्तो विज्ञप्ति आएको थियो ।

उक्त विज्ञप्तिमा अमेरिकाले गरेको निर्णयको विरोध गर्दै मादुरो सरकारलाई साथ दिने उल्लेख थियो । गुएइदोले आफैं राष्ट्रपति भएको घोषणा गर्नु र अमेरिकालाई पनि त्यसलाई स्वीकार गर्नुले यो ग्राण्ड डिजाइनमा मादुरो सरकारलाई हटाउने चाल भएको उक्त विज्ञप्तिमा थियो । यस विषयमा ठूलो आलोचना भएसँगै सरकारले केही सन्तुलित किसिमको वक्तव्य निकालेको थियो । दुई तिहाइको बलसहित सरकारमा रहेको पार्टीका अध्यक्षले भेनेजुयलाको मादुरो सरकारको पक्षमा बोल्नुलाई निकै अर्थपूर्ण मान्न सकिन्छ । सरकारले आलोचना पछि त्यसलाई केही सच्याए पनि वास्तविक सोचाइ के हो भन्ने बुझ्न सकिन्छ ।

भेनेजुएला संकटमा मदुरो सरकारले राजधानी काराकासमा भैरहेको विरोध प्रदर्शनमा सेनाको ट्यांक प्रदर्शनकारीको भीडमा चढाइएको भिडियो सार्वजनिक भएको हो । मदुरो सरकार दमनमा क्रुर हुँदै गैरहेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । यस्ता क्रूर शासनको पक्षमा नेपालको सत्तापक्ष हुनुलाई संवेदनशील बिषयका रुपमा हेरिनु पर्छ। नेकपा सरकारमा रहेको र क्रुरतालाई समर्थन गर्नु भनेको नेपालमा पनि भोलिका दिनमा यस्तै हुनसक्ने र विरोधलाई दबाउन कुनै पनि हदसम्म सरकार जान सक्ने तर्फ ईंगित गरेको छ।

के नेकपा क्रूरता र दमनको पक्षमा रहेको हो ? यसको जवाफ नेपाली जनतालाई अतिसिघ्र दिनु पर्ने हुन्छ । पछिल्लो सेनाको बर्रबरतामा नेकापा र नेपाल सरकार दुवै चुप बस्नुले नेपालमा पनि बहुमत र लोकतन्त्रको आडमा अधिनयाकवाद लाद्न सकिने र देशलाई पुन: एकपटक अँध्यारो तर्फ धकेल्ने संभावनालाई नकार्न सकिन्न।   
के हो भेनेजुयलाको संकट ?

भेनेजुयलाको राजनीतिक संकट सन् २०१९ को शुरुवातबाट भएको थियो। अहिले भेनेजुयलाको राष्ट्रपति को हो भन्ने स्पष्ट छैन। २०१९ को शुरुवातमा राष्ट्रपतिको निर्वाचनको नतिजा सार्वजनिक भएको थियो। जसमा निकालस मादुरो विजयी भएका थिए। यद्यपि उनीमाथि निर्वाचनमा गडबडी गरेका आरोप लागेको थियो।

निर्वाचनमा मदुरोको विपक्षमा हुवाँ गुएइदो थिए । यसै महिना उनी विपक्षका नेता बनेका छन्। यसअघिसम्म उनलाई विश्व समुदायका कसैले चिन्दैनथे। अहिले उनी आफैंलाई राष्ट्रपति बताइरहेका छन्। निर्वाचनको नतिजापछि मदुरोले कुसी छोड्न अस्वीकार गरेका छन्। यद्यपि गोइदो आगामी निर्वाचनसम्म अन्तरिम राष्ट्रपति बन्ने आफ्नो अधिकार रहेको बताउँदै आएका छन्।

गोएइदो यसअघि ह्युगो चाभेजको विद्धमा प्रदर्शन गर्ने नेता हुन्। चाभेजले मादुरोलाई आफ्नो उत्तराधिकारी चुनेका थिए। यद्यपि उनी चाभेजजस्तो लोकप्रिय भने हुन सकेनन्। चाभेजको विफल आर्थिक नीतिको कारण अहिले भेनेजुयला संकटमा रहेको हो।
यस्तोमा मुलुकको दूरावस्था हटाउन नसकेको भन्दै भेनेजुयलामा मदुरोको राजीनामाको माग गर्दै हजारौंको संख्यामा मानिसले प्रदर्शन गर्दै आएका छन् । संकट समाधानको लागि अमेरिका तथा ईयूले पठाएको राहत पनि मदुराले सीमाक्षेत्रमा नै रोक्ने गरेका छन् ।

अमेरिका किन मदुरोको विपक्षमा छ ?

यस वर्षको शुरुमा भएको निर्वाचनमा अमेरिकाले प्रश्न उठाउँदै आएको छ । यो निर्वाचन प्रजातान्त्रिक मूल्य मान्यताअनुसार नरहेको अमेरिकाको दाबी छ । निर्वाचनमा जित हासिल गर्न सबै सरकारी निकायलाई हातमा लिएर विपक्षीलाई रोक्ने प्रयास मदुरो सरकारले गरेको अमेरिकाले बताउँदै आएको छ । त्यसका साथै यो निर्वाचनका सबै प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको छ । त्यसका साथै अमेरिकाले मदुरो सरकारमाथि प्रतिबन्ध पनि लगाएको छ । अमेरिकाले तत्काल आफ्नो कदम सच्याउन मदुरो सरकारलाई आग्रह गर्दै आएको छ । तर, मदुरो सरकारले भने नियोजित रुपमा अमेरिकाले भेनेजुयलामाथि आँखा गाडेको उसको भनाइ छ ।

कसरी उत्पन्न भयो भेनेजुयला संकट

मुद्राको मूल्य घट्नु, बिजुली कटौती तथा आवश्यक सामग्री महँगो हुनु भेनेजुयलाको सबैभन्दा समस्या हो। भेनेजुयलामा जलविद्युत्को अत्यधिक प्रयोग हुने गरेको छ। सन् २०१५ को सुख्खापनको कारण भेनेजुयलाको बिजुली उत्पादनमा कमी आयो।

बिजुलीको संकट यति धेरै बढ्यो कि अप्रिलमा सरकारले सरकारी कार्यालय सोमबार मात्र खुला रहने घोषणा गर्‍यो। गत एक वर्षमा भेनेजुलाको मुद्रास्फीतिदर १ लाख ३० हजार प्रतिशत पुगेको छ। यो मुद्रास्फीतिदरले महँगी कति बढ्यो भन्ने कुराको केवल कल्पनामात्र गर्न सकिन्छ। २०१७ सम्ममा नै भेनेजुयलाको विदेशी ऋण १ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको थियो। भेनेजुयलासँग साउदीभन्दा धेरै तेल भएता पनि प्रशोधनको खर्च धेरै पनि धेरै छ। यहाँ तेल कम्पनी सरकारी भएका छन् तर उत्पादन कम हुँदै गएको छ। जसले रोजगारी र आम्दानीको प्रश्न पनि उत्पन्न भएको छ।

यसअघि चाभेजले तेलबाट पैसा आउँदासम्म अनुत्पादक क्षेत्रमा खर्च बढाउँदै गए। अहिले भेनेजुयलाको अवस्था यति खराब भएको छ कि एक किलो मासुको लागि ३ लाख बोलिभर खर्च गर्नुपर्ने अवस्था छ। महिलाहरु पैसाको लागि कपाल बेच्दै आएका छन्। प्रत्येक ३५ दिनमा सामग्रीको मूल्य दोब्बर भइरहेको छ। अहिले यहाँ ५ मध्ये ४ जना गरिब छन्। खानेकुरा किन्नका लागि पैसा नभएका मानिस लुटपाट मच्चाइरहेका छन्।

सन् २०१४ देखि अहिलेसम्म २३ लाख मानिहरुले मुलुक छाडिसकेका छन्। २०१४ देखि अहिलेसम्म भेनेजुयलामा पेट्रोलको मूल्य ६ हजार प्रतिशतले बढिसकेको छ। तेलको उत्पादन पनि ३० लाख ब्यारेलबाट घटेर अढाइ लाखमा झरेको छ। प्रत्येक २१ मिनेटमा एक हत्या हुने गरेको छ।

सरकारको कदम

मदुरो भने कुनै पनि अवस्थामा आफ्नो पद नछाड्ने पक्षमा छन् । त्यसका लागि उनी जस्तोसुकै कदम पनि उठाउन तत्पर देखिएका छन् । मदुरो सरकारको विरुद्धमा लामो समयदेखि प्रदर्शन हुँदै आइरहेको छ । तर, सरकार भने त्यसलाई दमन गर्दै आएको छ । अहिलेसम्म प्रदर्शनको कारण सयौं मानिसको ज्यान गइसकेको छ ।

यसैबीच सार्वजनिक भएको एक भिडियोमा प्रदर्शन भइरहेको समयमा प्रदर्शनकारी माथि नै सेनाको ट्यांकर चलाउने प्रयास गरेको देखिन्छ । भिडियोमा देखिएको दृश्यले मदुरो सरकार सबै किसिमको संवेदनशीलतालाई पार गर्दै अघि बढ्ने अवस्थमा पुगेको देखाएको छ । भेनेजुयलाका तमाम बेथितीलाई सरकारले समाधान गर्न सकेको छैन तर, प्रदर्शनकारीमाथि भने उसले सामान्य सहानुभूतिसम्म पनि देखाएको छैन ।

यसले मदुरो सरकारको लागि सबैभन्दा ठूलो विषय सत्ता रहेको देख्न सकिन्छ । जुन सरकारको पक्षमा नेपालमा दुई तिहाइ मत पाएको पार्टीका अध्यक्षले विज्ञप्ति निकाल्छन् । क्रुरता र दमनको पक्षमा नेपाल त होईन? सरकार र नेकपाले चाँडो जवाफ दिनुपर्छ। हाम्रो अबको बाटो कता ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ