arrow

मौसमले उडान प्रभावित : शनिबारसम्म हेलिकप्टर नउडाउन अनुरोध

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
weather1.jpg

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका जहाज मौसम खराबीका कारण पुनः काठमाडौँ फर्किएको छ ।

 त्यस्तै, श्रीएयरलाइन्सको जहाज पनि फर्केको छ । अन्तर्राष्ट्रियतर्फ एयर बङ्गलाको जहाज करीब आधा घण्टा होल्ड भएको थियो । भैरहबादेखि पश्चिम क्षेत्रका अधिकांश उडान प्रभावित भएका छन् ।

विमानस्थलमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) । सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौँमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो समाचार तयार पार्दासम्म (दिउँसो २ बजे)विमानस्थलको सेवा सामान्य अवस्थामा आइसकेको प्रवक्ता तिवारीले बताए।

राष्ट्रिय आपतकालीन केन्द्रको अपिल
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ । केन्द्रले आज एक सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्न नगराउन र पर्यटक एवं यात्रुले सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो । भारतमा बिहानैदेखि प्रतिघण्टागति १७५ किमिमा फानी चक्रवात चलिरहेको र आज अपराह्न ३ बजेदेखि उक्त चक्रवातले नेपालका पूर्वी जिल्लामा पनि प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले चक्रवात ‘फानी’ बारे विशेष बुलेटिन निकालेर हाल बङ्गालको खाडीमा उडिसाको तटीय क्षेत्र नजिकै अवस्थित रहेको र उक्त प्रणाली भारतको उडिसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको छ । यो प्रणाली उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने बताइएको छ ।उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना नदेखिए पनि यसको प्रभाव नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि शनिबारसम्म मौसम प्रभावित भई पूर्वी र मध्यका धेरै स्थानमा मेघगर्जन÷चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ ।

पर्यटन विभागले सतर्क गरायो
पर्यटन विभागले पनि पर्यटक र पर्यटकीय व्यवस्थापन गर्ने एजेन्सीलाई स्थानीय मौसमको ख्याल गरी सोही अनुरुपको व्यवस्था मिलाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । ‘मुलुकका विभिन्न क्षेत्रमा भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाली क्षेत्रमा गएका पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी सुरक्षित स्थानमा राख्ने तथा कुनै क्षति हुन नदिने प्रबन्ध गर्नु÷गराउनु भई नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ’ विभागका निर्देशक मीरा आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ