arrow

कांग्रेस सभापति देउवाले भने – नीति कार्यक्रममा आश्वासनबाहेक केही छैन, चुनावी घोषणापत्र जस्तो भयो 

यसो भन्छन् विजय गच्छदार, बालकृष्ण खाँण र गगन थापा 

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
congress-deuba.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको भनी टिप्पणी गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि छैन भने । 
     
सभापति देउवाले भने, “धेरै कुरा अघिल्लो पटकको उल्लेख छ, नयाँ कुरा छैन ।” सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको सन्दर्भमा उनले त्यसको सट्टा नेपाल सरकार भने पनि हुन्थ्यो भने । 

काङ्ग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई जनताका इच्छा र आकांक्षा पूरा गराउने भन्दा पनि पार्टीको चुनावी घोषणापत्र जस्तो आएको भनी टिप्पणी गरेको छ । नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका थुप्रै विषय उल्लेख गरिए पनि सम्पन्न गर्ने आधार नदेखिएको काङ्ग्रेसको आरोप छ ।     
     
‘हाम्रो सरकार’ भनेको भए राम्रो हुन्थ्यो     
     
काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदारले नीति तथा कार्यक्रममा नयाँ कुरा केही नभएको र पुरानोको निरन्तता जस्तो मात्र देखिएको आरोप लगाए । यसमा समय तोकेर धेरै विषय उल्लेख गरिए पनि कार्यान्वयन हुने आधार नदेखिएको उनको भनाइ छ । 
     
नीति कार्यक्रममा केही राम्रो कुरा भए पनि धेरै विषयमा सपना बाढेकोजस्तो देखिएको भनी उनले टिप्पणी गरे । ‘मेरो सरकार’ सम्बोधनका सम्बन्धमा नेता गच्छदारले भने, “हाम्रो सरकार भनेको भए राम्रो हुन्थ्यो, ‘मेरो सरकार’ भन्ने सम्बोधन राजाको शासनकालमा हुन्थ्यो, यसले जनताको भावनालाई समेट्न सक्दैन ।”     
     
 काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानले ग्यारेन्टी गरेका मौलिक अधिकारलाई नीति कार्यक्रममा सुनिश्चिता नगरिएको र सङ्घीयतालाई सवल बनाउने आधारशीला पनि नभएको भनी टिप्पाणी गरे ।      
     
प्रमुख सचेतक खाँणले नीति तथा कार्यक्रमअनुसार ल्याइने बजेटले मुद्रा स्फीति बढ्ने र यसले झनै मूल्यवृद्धि तथा महँगी बढ्ने आरोप लगाए । नीति तथा कार्यक्रम सबै जनताले अपनत्व गर्ने खालको नभई गफको पुलिन्दाजस्तो भएको उनको भनाइ थियो ।     
     
नीति कार्यक्रमको समीक्षामा आत्म प्रशंसा मात्र     
     
काङ्ग्रेस नेता गगनकुमार थापाले ‘मेरो सरकार’ भन्ने सम्बोधनले राष्ट्रपतिलाई विवादमा फसाउने र संस्थाप्रतिको मान सम्मान घटाउने गरी गम्भीर त्रुटि भएको धारणा व्यक्त गरे । अघिल्लो आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको कार्यक्रमको समीक्षामा आत्मप्रशंसा मात्र भएको भन्दै नेता थापाले भने, “चालू आवमा जनता निराश भन्ने कही उल्लेख छैन, भ्रम अहङ्कार मात्र उल्लेख छ ।”     
     
 पूँजीगत खर्च कम भएको र राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेकोबाहेक अन्य कुनै पनि कमजोरी नभएको भनी नीतिमा उल्लेख भएको बताउँदै उनले यसले सही दिशामा डोराउनु सक्दैन भने । 
     
 सङ्घीयता कार्यान्वयनका सम्बन्धमा यो वर्ष फितलो भए पनि नीतिमा कही पनि सङ्घीयताको सन्दर्भमा कमजोरी रहेको उल्लेख नभएको उदाहरण दिँदै उनले ‘पाँच वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्छु भनेको सरकारले गएको वर्ष कति रोजगारी सिजर्ना गरे’ भन्दैन भने ।

नीति र कार्यक्रममा नयाँ कुरा केही नभएको र पुरानो कुराको निरन्तता मात्र रहेको भन्दै नेता थापाले झुटको र आश्वासनको पुलिन्दा हो भनी टिप्पणी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ