arrow

सरकारले ल्याएको नीति तथा कार्यक्रम आधारहीन : महामन्त्री कोइराला

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
sasanka-koirala-parliament.jpg

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री तथा सांसद शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु आधारहीन रहेको आरोप लगाएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता कोइरालाले नीति तथा कार्यक्रममा व्यक्त भएका योजना र कार्यक्रमहरुको विश्वसनीय आधार नरहेको बताएका हुन्। 

विगतमा भनिएको जस्तै आगामी चार वर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिका आधारहरु पटक्कै नरहेको भन्दै उनले विदेशी साहयताको कुनै भरपर्दो आश्वासन नरहेको र नेपालमा भएका आर्थिक गतिविधिका सूचकांकहरु समेत उत्साहवर्धक नरहेको समेत बताए।

आगामी एक वर्ष भित्र भूकम्प प्रभावित नागरिकहरुलाई निजी आवास उपलब्ध गराउने कुरा र एक हजार मेघावाट विद्युत उत्पादन गर्ने कुरा वस्तुनिष्ठ नदेखिएको भन्दै उनले गौतम बुद्ध, पोखरा र निजगढ विमानस्थल निर्माण सम्पन्न गर्ने कुरा बारम्बार दोहोर्‍याइरहनु स्वभाविक नरहेको बताए। 

वीरगंज–काठमाडौं र रसुवागढी–काठमाडौं रेल मार्गको डिपिआर दुई वर्ष भित्र तयार गर्ने कुरा र दुईवर्ष भित्र पूर्वपश्चिम विद्युतीय रेल मार्ग सञ्चालन गर्ने कुरा फगत आश्वासन बाहेक केही पनि नभएको उनको बुझाई छ । आगामी एक वर्षमा पाँच लाख रोजगारी सृजना गर्ने कुरा केवल खोक्रो आश्वासन मात्र रहेको भन्दै कोइरालाले आगामी वर्ष भित्र तीन करोड नेपालीको स्वास्थ्य वीमा गर्ने, सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउने र स्थानीय तहका केन्द्रमा कालोपत्रे बाटो निर्माण गर्ने कुरा कर्णप्रिय सुनिए पनि यसका लागि समय लाग्ने कुरा घाम जतिकै छर्लङ्ग रहेको धारणा व्यक्त गरे। 

अर्को कुरा वर्तमान सरकार बनेपछि नै मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीले काम छाडेको भन्दै उनले यसको कारण वर्तमान सरकारले स्पष्ट पार्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यस परियोजनासँग जोडेर आएको कमिशन प्रकरणकाबारे सरकार अस्वभाविक रुपमा मौन देखिएको कुराले आशंका सिर्जना गरेको आरोप उनले लगाए । 

राष्ट्रप्रमुखले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सरकारद्वारा अघि सारिने वार्षिक कार्यक्रम र अबलम्बन गरिने नीतिहरुको राजनीतिक दस्तावेज रहेको भन्दै यो कुनै इतिहासको वाचन र भविष्यको आकलन नभएको उनले बताए । तसर्थ यो यर्थाथपरक, वस्तुनिष्ठ, तर्कपूर्ण र छोटो हुनु पर्नेमा उनले जोड दिए । उनको प्रस्तुतीमा भएको इतिहासको विवेचना र सरकारको गुणगानको औचित्य समेत नरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ