arrow

गणतन्त्र दिवस : सबै जिल्लाहरुमा दिपावली गर्न अनुरोध

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
republic-day-nepal.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम सार्वजनिक गरेको छ। गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी यस दिवसको कार्यक्रम सार्वजनिक गरिएको हो।

गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाडौंको टुँडिखेलस्थित सैनिक मंञ्चमा विशेष कार्यक्रम आयोजना गरिनेछ। राष्ट्रपति विद्या देवी भण्डारी प्रमुख अतिथि रहने यस कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ अंकित व्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको  गृह सचिव प्रेमकुमार राईले जानकारी दिए। त्यसैगरी कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले पनि सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ। गणतन्त्र दिवसको दिन साँझ दिपावली पनि गरिनेछ।

तीनदिन मनाउने तयारी गरेको गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते सबै तहको सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र व्यानर सजाई नगर सरसफाई र श्रृंगार गर्नु पर्ने तय भएको छ। त्यसै अवसरमा आम नागरिकलाई समेत घरघरमा सरसफाई र साँझ दिपावली गर्न अनुरोध गर्ने कार्यक्रम पनि तय गरिएको गृह सचिव राईले बताए।

जेठ १६ गते सबै जिल्लाहरुमा वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ। गृह सचिव राईले गणतन्त्र दिवसको अवसर पारेर विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासहरुमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित जेठ १४, १५ र १६ गते तीन दिनसम्म भव्य रुपमा मनाउने र साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्र जनताको प्रणाली भएको प्रधानमन्त्रीको भनाई
गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवस बनाउनु पर्ने बताए। प्रधानमन्त्री ओलीले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र जनताको प्रणाली भएकाले त्यसलाई जनस्तरमै मनाउने गरी तयारी गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए। यो जनताको  दिवस भएकाले  गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्न उनले सबैलाई निर्देशन दिए। 

प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताउदै कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको नभई पटक पटक विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापनाभएको स्पष्ट पारे। प्रधानमन्त्रीओलीले गणतन्त्र दिवसकाअवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने समेत बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ