arrow

‘सभामुखज्यूले ध्यानाकर्षण भएको छ भन्नुको मतलब प्रधानमन्त्रीज्यूले बोलेका शब्दहरु डिलिट (हटाइन्छन्) हुन्छन् भन्ने हो’

प्रतिपक्षी प्रधानमन्त्रीका केही शब्दका पछाडि अलि बढी लाग्यो – देव गुरुङ

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अलि बढी नै गरेको आरोप लगाएका छन् । 

गत मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका शब्दहरुमा एक एक गर्दै पछि लागेको भन्दै गुरुङले भने, ‘प्रतिपक्षीले अलि बढी नै गर्यो । प्रतिपक्षी प्रधानमन्त्रीका केही शब्दका पछाडि अलि बढी लाग्यो ।’ 

गुरुङले त्यसप्रति सभामुखले ध्यानाकर्षण भएको जनाइसकेपछि अल्झिनु पर्ने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘सभामुखज्यूले ध्यानाकर्षण भएको छ भन्नुको मतलब प्रधानमन्त्रीज्यूले बोलेका शब्दहरु डिलिट (हटाइन्छन्) हुन्छन् भन्ने हो ।’

प्रधानमन्त्रीले बोलेका शब्दहरु कति संसदीय प्रणाली विपरीत भए वा भएनन् भन्नेबारे निर्णय गर्नेछु भन्ने सभामुखको भनाइलाई वास्ता नगरिएको भन्दै प्रतिपक्षीप्रति गुरुङले आक्रोश पोखे । 

‘प्रधानमन्त्रीले बोलिरहँदा यो शब्द गलत छ त्यो रेकर्डबाट हटाइएको छ भन्न पनि सुहाउँदैन’, नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङले भने । 

उनले प्रधानमन्त्री ओलीले बोलेका शब्दप्रति बचाउ गर्दै भने, ‘निम्छरो भन्ने शब्द कति उपयुक्त वा अनुपयुक्त वा नेपाली शब्दका झर्रा शब्दहरु भावपूर्ण हुन् । कति उपयुक्त अनुपयुक्त भन्ने कुराको निर्णय पछि होला ।’ 

नेता गुरुङ अझ स्पष्ट हुँदै भन्छन्, ‘यी शब्दहरुबारे बहसको विषय बन्न सक्छ । तर सभामुखले ध्यानाकर्षण भएको भनिसकेपछि अड्को थापिरहनु र अहिले नै रुलिङ गर्नुपर्छ भन्ने कुरा पनि संसदीय प्रणाली अन्तर्गत भएन नि ।’ 

उनले प्रतिपक्षी नेपाली काँग्रेसलाई भने, ‘उहाँहरु बस्नुपर्दथ्यो । प्रक्रियामा सहभागी हुनुपर्दथ्यो ।’ 

विपक्षी नै अमर्यादित भएको भन्दै गुरुङले भने, ‘सभामुखलाई सरकारको प्रवक्ता भएको भन्ने लगाएको आरोप गलत छ । अमर्यादित भाषा बोलिरहेका छन् विपक्षीहरु । यो सभामुखप्रतिको पूर्वाग्रह हो ।’ 

सभामुखको बचाउ गर्दै उनले भने, ‘प्रधानमन्त्री रोष्टममा नभएको अवस्था भएको भए सभामुखले भूमिका नखेलेको भन्न सकिन्थ्यो ।’ 

मंगलबारको संसद बैठकमा प्रधानमन्त्रीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिको जवाफ नदिइ....’ भनेका थिए । 

गुरुङले भने, ‘प्रतिपक्षीहरु धैर्यपूर्वक उभिएरै भए पनि प्रक्रिया पूरा गर्ने क्रममा संसदभित्र रहिदिनुभयो यसप्रति आभारी छु’ भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ