arrow

पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
garmi_photo.jpg

नेपालगञ्ज । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि  चर्को घामका साथै  ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको न्यूनतम ४३ र अधिकतम ३७ तापक्रम डिग्री सेल्सियस आसपास रहेको छ ।

यस वर्षको सबैभन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । आइतबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम बिहीबारसम्म आइपुग्दा ४३ डिग्री सेल्सियस पुगेको उक्त कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले जानकारी दिए । ‘तातो हावा र तापक्रम वृद्धिले बढी गर्मी महसुस भइरहेको छ,’ उनका भने ।  चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका  साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ ।

तातो हावाहुरीकै कारण आँप, तथा अन्य हरियो तरकारीखेती प्रभावित भएको छ । कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् । वैशाख महीनाभर नेपालगञ्जलगायत पश्चिम तराईमा पानी परेको छैन । गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् । यहाँका अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको बताइएको छ ।

गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने,  पचाउन नसकिने खाद्य पदार्थले खाद्यान्न विषक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने  र ज्वरो आउनेजस्ता समस्या देखापर्नसक्छ ।

अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्नसक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरिरमा पानी कम हुन्छ । पानी कम भएपछि अङ्गहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा  कमजोरी हुनेलगायत अन्य शारिरिक समसया देखा पर्ने भएकाले यसबाट   बच्न पर्याप्त पानी पिउन भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रूपानन्द अधिकारीले सुझाव दिए ।
 
‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्ने, पानीको बोतल साथैमा राखी पटक÷पटक पानी पिउनुपर्ने खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ र  फलफूल प्रशस्त मात्रामा खानुपर्ने र कडा घाममा नशालु पदार्थ सेवन नहुने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ