arrow

सरकारले राष्ट्रपतिलाई महारानी बनाए पनि संविधानले दिदैन – वरिष्ठ नेता पौडेल 

 ‘यो संवैधानिक अंगमाथिको हस्तक्षेप हो । हामीले ७० वर्षसम्म लडेर यो व्यवस्था ल्याएका हौं । यसको रक्षा गर्न नेपाली कांग्रेस तयार छ ।’

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
ramchandra-poudel5.jpg

सुनसरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा अहिलेको राजनीति व्यवस्थामा केपी शर्मा ओलीले दिएको जवाफ अधिनायकवादतर्फ उन्मुख रहेको जिकिर गरेका छन् । 

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत सुनसरीको झुम्कामा आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको दर्जा दिएपनि संविधानले नदिने स्पष्ट पारे ।

 ‘प्रक्रिया नपुर्याइन जे पायो त्यही दुई तिहाई हुँदा पनि गर्न सक्दैन । अख्तियार, अदालत, लोकसेवा, जस्ता संवैधानिक अंगलाई निरर्थक बनाउने प्रयासमा ओली सरकार लागेको छ ।’, नेता पौडेलले भने, ‘यो संवैधानिक अंगमाथिको हस्तक्षेप हो । हामीले ७० वर्षसम्म लडेर यो व्यवस्था ल्याएका हौं । यसको रक्षा गर्न नेपाली कांग्रेस तयार छ ।’

नेता पौडेलले आफूहरुसंग लोकतन्त्रको रक्षा गर्ने आत्म शक्ति र राजनीतिक नैतिक साहस रहेको स्पष्ट पार्दै त्यसको लागि पार्टीलाई जगाउन जरुरी रहेकोमा जोड दिए । 

उनले भने, ‘अहिले ओली सरकार संस्थागत भ्रष्टाचार लागेको छ । कसैलाई दोषी हो भनेर संसदको समितिले भन्छ  तर प्रधानमन्त्री आफैले संसदीय समितिले दोषी भनेकालाई निर्दोष भन्दै हिड्छन् । यसरी दोषी र निर्दोषी भन्ने उनी अख्तियारको प्रमुख हुन् कि अदालतको न्यायधीश ?’

आक्रोश हुँदै उनले थपे, ‘वालुवाटार जग्गा प्रकरणमा पनि के आधारमा प्रधानमन्त्रीले निर्दोष भनेका हुन् ? नेपाली कांग्रेस कसैलाई जोगाउने कसैलाई फसाउनुपर्छ भन्ने पक्षमा छैन । कांग्रेस दोषी जो कोही भएपनि कारवाही हुनुपर्छ भन्नेमा हो । ’

कानुनी सबै प्रक्रिया भताभुंग पारेर दोषीलाई जोगाउने चेष्टा सरकारले नगरे हुन्छ भन्दै नेता पौडेलले भने, ‘कम्युनिष्टले पक्षपातको शासन लागू गर्न खोजेका छन् । यो कुरा नेपाली कांग्रेसलाई सह्य छैन । नेपाली कांग्रेस हुँदासम्म लोकतन्त्रलाई घुँडा टेक्न दिँदैन । त्यो सपना शासकहरुले नदेखे हुन्छ ।’

उनले विगत सम्झाउँदै भने, ‘हिजो कांग्रेसले संसदमा खेलेको भूमिकाले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर सरकार छोड्न बाध्य भएका थिए । नेपाल कुनै मुलुकको उपनिवेश होइन । केपी ओलीले सत्य लुकाउन असत्यको प्रचार गरियो भन्दै आउनुभएको छ । मुलुकको कार्यकारी प्रधानमन्त्री भन्न सक्नुपर्छ असत्यको प्रचार भयो भने प्रचार के हो त ?’
 
उनले पार्टी एकतामा जोड दिँदै भने, ‘अब पार्टीका कार्यकर्ताले गम्भिरतापूर्वक सोच्ने बेला आएको छ । हामी नेतामा नैतिक शक्ति हुन जरुरी छ । सत्ताले मान्छेलाई भ्रष्ट बनाउँछ भन्ने भनाई नेपाली कांग्रेसमा लागु हुँदैन । यसको उदाहरण सुशील कोइराला हो । कांग्रेस कार्यकर्ताले शीर निहुर्याएर हिड्नु पर्दैन ।’

काँग्रेसको जितको सूत्र बताउँदै उनले भने, ‘अब महिलाले हरेक घरमा एउटा महिला संघको सदस्य र हरेक टोलमा महिला संघको समिति बनाउनुपर्छ । यो भएमात्रै कांग्रेसको जीत संभव छ । नेताहरुले कार्यकर्ताको र कार्यकर्ताले नेता मुल्याङकन गर्न जरुरी छ । कांग्रेसमा सुधार तलबाट होइन माथिबाट हुनुछ । तर तलका कार्यकर्ताले पनि विवेचना गर्न जरुरी छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका नेता महेश आचार्यले काँग्रेसमा आपसी असमझदारीको अन्त्य गर्दै एक ढिक्का हुन सकेमात्र कम्युनिष्टहरुको गलत गतिविधि रोकिनेतर्फ सबैको ध्यान खिच्दै अब सशक्त भएर गलत प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ