arrow

पत्रकार महासंघलाई सभामुख महराले भने –विधेयकमा कुनै कमीकमजोरी भएको भए विषयगत समितिमा छलफल गरेर समाधान निकाल्न पहल गर्छु

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
krishna-bahadur-mahara-new.jpeg

काठमाडौं । आन्दोलनरत नेपाल पत्रकार महासंघले सोमबार बिहान सभामुख कृष्णबहादुर महरालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । महराको सरकारी निवास बालुवाटारमा भेटेर महासंघले सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्र बुझ्दै सभामुख महराले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको र विधेयकमा कुनै कमीकमजोरी भएको भए विषयगत समितिमा छलफल गरेर समाधान निकाल्न पहल गर्ने बताएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । 

उनले भने, ‘सभामुखज्यू सकारात्मक देखिनुभयो । उहाँले प्रेस स्वतन्त्रताका लागि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो ।’

प्रेस स्वतन्त्रताविरोधी विधेयक गत बिहीबार संसदमा दर्ता भएपछि आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको हो । 

सरकारले प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको र विधेयकका प्रावधान प्रेस स्वतन्त्रता हनन गर्ने खालको भएपछि महासंघ आन्दोलनमा होमिएको हो ।

महासंघले सोमबारै राष्ट्रिय सभाका अध्यक्षलाई पनि भेटेर ज्ञापनपत्र बुझाउँदै छ । 

मंगलबार संसदका विभिन्न समिति सभापति र सदस्यसँग छलफल गर्ने निर्णय भएको महासंघका महासचिव विष्टले जनाए ।

उनले मंगलबारै कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, देशैभर सरोकारवाला पक्षबीच छलफल गर्ने तथा जेठ ३ मा काठमाडौंमा संसदबाहिर र जिल्लामा सदरमुकामहरुमा सञ्चार सामग्रीसहित प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जनाए । 

आइतबार महासंघले महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग छलफल गरेको थियो । 

विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिए पत्रकारलाई दश लाखसम्म जरिवाना भराउन सकिने उल्लेख छ।

सरकारले संसदबाट विधेयक फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ