मिडिया काउन्सिल विधेयक पारित नै भैसक्यो जसरी प्रचार भयो – शर्मा
‘ड्राफ्ट गर्नेले किन त्यसरी विधेयकका विषयहरु ल्यायो त्यो सरकारले जवाफ दिने कुरा हो’
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
281
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक अहिले नै पारित भइसक्यो भनेजसरी गलत प्रचार गरिएको बताएका छन् ।
सरकारले गत बिहीबार नेपाल प्रेस काउन्सिलको स्थानमा मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गराएको थियो ।
राष्ट्रिय सभाका सांसदसमेत रहेका नेता शर्माले सरकारले मिडिया काउन्सिल विधयेक प्रतिनिधिसभामा पेश गरे पनि राष्ट्रिय सभामा अझै पेश नभएको बताएका छन् ।
उनले भने, ‘आफूहरुको ठाउँमा नआएकाले त्यसबारे बोल्ने अवस्था छैन । तर हामी प्रेस स्वतन्त्रताको पक्षमा रहेका छौं ।’
उनले स्पष्ट पारे, ‘सरकारले आवश्यक कानुनहरु ल्याउँछ । ती कत्तिको उपयुक्त छन् । त्यसबारे छलफल र बहस हुन्छ । नराम्रा पक्ष संशोधन हुन्छन् । अहिले नै विधेयक पास भयो जसरी कुराकानी भइरहेका छन् । त्यस्तो हैन ।’
अहिले आएको विधेयकप्रति भने उनले आश्चर्य मान्दै भनेका छन्, ‘ड्राफ्ट गर्नेले किन त्यसरी विधेयकका विषयहरु ल्यायो त्यो सरकारले जवाफ दिने कुरा हो ।’
ऐन कानुन सम्मत र नागरिकका हकहितमा आएको रहेछ भने त्यसैअनुसार जानुपर्ने भन्दै उनले अहिले नै गलत भएको छ भनेर ब्याख्या गरिनु उचित नभएको बताए ।
नेता शर्माले भने, ‘सम्बन्धित पक्षलाई राखेर र समितिमा राखेर व्यापक छलफलपछि मात्र यो विधेयक पारित हुन सक्छ । अहिले सचेतना जगाउनु पर्छ तर विरोध गर्नु मिल्दैन ।’
उनले नेपाली काँग्रेस लगायतका प्रतिपक्षीले गरेको विरोधबारे भने, ‘लोकतन्त्रमा भन्न पाइन्छ । त्यो प्रतिपक्षीको धर्म हो । राजनीतिक धर्म निभाएको हो ।’
लोकतन्त्रका लागि प्रेसले खेलेको भूमिकाका बारेमा भने नेकपाका नेताहरु बोल्न चाहँदैनन् । शर्माले भने, ‘पत्रकारहरु आफ्नो ठाउँमा सही होलान् ।’