Skip

नरिवल खसाल्ने जात्रा बिहिबार, मच्छिन्द्रनाथको जात्रा : तीन लोकको यात्रा

प्रकाशित मिति : २०७६ जेठ २ बिहिबार
तस्बिर : फाइल

काठमाडौं। रातो मच्छिन्द्रनाथको नरिवल खसाल्ने जात्रा बिहिबार लगनखेलको थतिटोलमा हुदैछ। मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनमा नरिवल खसाल्ने जात्रा मनाइन्छ। रथ लगनखेलको थटिटोलमा पुगेपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।

नरिवल खसाल्ने दिन अपरान्ह, ज्येष्ठ व्यक्ति रातो मच्छिन्द्रनाथको टुप्पोमा बसेर देशमा सुख शान्ति छाओ्स भन्ने कामना गर्दै चारै दिशामा योमरी खसालेपछि अन्तिममा नरिवल खसाल्ने गरिन्छ। आजका लागि रथको टुप्पोबाट खसाल्न एक सय भन्दा बढी योमरी गुठी कार्यालयमा बन्दै गरेको बताउछन गुठी तहसिल कार्यालय ललितपुरका प्रमुख शैलेन्द्र पौडेल।

खसालिएको नरिवल फेला पार्न यो दिन थटिटोलमा ठुलो भिडभाड र तछाडमछाड हुन्छ। जसले नरिवल पाउँछ, उसले सन्तान प्राप्त गर्छ भन्ने जनविश्वास रहिआएको छ। परापूर्वकालमा कर्कोटक नामका नागराज समेत रातो मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल खसालेको जात्रा हेर्न गएको किंबदन्ति छ। जात्रा हेर्न जाने क्रममा नागराजले आफ्नी श्रीमतीलाई मेरो बारेमा कसैले सोधेमा थाहा छैन भन्नू भनेपनि नागिनीले लगनखेलको चैत्यमा सेतो बस्त्र लाएर हेर्न गएको छ भनिदिएपछि साहुले नागलाई समातेको कथन छ।

त्यसबेला जरिवाना र सजायका कुरा उठ्दा नागकी श्रीमतीले सत्य बोलेकोले कर्कोटक नागलाई रातो मच्छिन्द्रनाथले आफ्नो साथमा राखेको तर श्रीमानको कुरा नकारेको हुनाले १२ बर्षको एकपटक मात्रै नख्खु खोलामा नागनागिनीको मिलन हुने भनी छिनोफानो गरिएको लोक कथन छ। त्यसै अनुसार रातो मच्छिन्द्रनाथको गलामा सधैं कर्कोटक नागराजको माला लगाएको हुन्छ। साथै अहिले पनि १२ बर्षे जात्रामा मात्रै नाग र नागिनीको मिलन गराउन रातो मच्छिन्द्रनाथको रथलाई नख्खु खोलाबाट यात्रा गराउने  परम्परा कायमै छ।

मच्छिन्द्रनाथको रथ गएको सोमबार लगनखेल पुर्‍याइएको हो। लगनखेल पुर्‍याइएसंगै लगनखेल बसपार्कस्थित मच्छिन्द्रनाथकी आमा माःसीमा(रुख) को परिक्रमा गराईएको थियो। रथलाई लगनखेल पुर्‍याएको दिन भूतबलि पुजा दिने गरिन्छ ।नरीवल खसाल्ने जात्राको अघिल्लो दिन हिजो बसपार्कमा रहेको माःसीमा २ पटक परिक्रमा गराई थटी टोलमा पुरयाइएको छ।

थटी टोलमा आज  नरिवल खसाल्ने जात्रा सकिए पछि भोलि याक मिसा भुजा (महिलाले मात्रै रथ तान्ने) गरिन्छ। जात्रा अबधिभर पुरुषले मात्र रथ तानेपनि नरीवल खसाल्ने जात्राको भोली एक दिन महिलाले मात्र रथ तान्ने गरिन्छ। जात्राको अबधिभरमा नरीवल दूईपटक खसालिन्छ। आज र जावलाखेलमा रथ तान्नु अघिल्लो दिन यसै स्थानमा फेरी पनि नरीवल खसालिन्छ।

थटी टोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर जावलाखेल पुर्‍याउने दिनको टुङ्गो लाग्छ। नरिवल खसाल्ने जात्रा सकिएको पहिलो बिहीबार ज्योतिषले रातो मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ। रथ जावलाखेल पुगेको चार दिन पछि भोटो जात्रा मनाइन्छ र खटमा राखेर त्यही दिन मच्छिन्द्रनाथलाई बुुङ्गमती फर्काइन्छ।

रथ जात्राका लागि गुठीले यसपाली ५० लाख रुपैया लाग्ने अनुमान गरेको छ। जात्राका लागि आवश्यक सामग्री, रथ निर्माणमा खट्ने कामदारको पारिश्रमीक खाना लगायत रथाजात्राका क्रममा गरीने बिभिन्न बिधिका लागि गरी ५० लाख रुपैया लाग्ने अनुमान प्रमुख पौडेलले गरे।

मच्छिन्द्रनाथको जात्रा : तीन लोकको यात्रा
मच्छिन्द्रनाथको रथयात्राका क्रममा तीन लोकको यात्रा हुने विश्वास गरिन्छ। पहिलो दिन रथलाई पुल्चोकबाट गाबहाल पुर्‍याइन्छ। पुल्चोकबाट गाबहालसम्मको मच्छिन्द्रनाथको रथ यात्रालाई स्वर्ग लोकको यात्रा भनिन्छ। यो रथयात्रा गुरु बन्धुदत्त बज्राचार्यको नाममा हुने गरेको छ। यसलाई कान्तिपुरवासीको जात्रा मानिन्छ। पहिले काठमाडौँवासीले नै यो खण्डमा रथ तान्ने गर्दथे।

गाःबहालबाट सुन्धारासम्मको मत्र्यलोकको भ्रमण भनिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउँछन्। यो खण्डको जात्रालाई भक्तपुरवासीको जात्रा मानिन्छ। राजा नरेन्द्रदेवको स्मरणमा यो रथ यात्रा हुने गरेको छ। पहिले पहिले यो खण्डमा रथ तान्न भक्तपुरवासी नै आउने गरेको उनको भनाई छ।

पाटन दरबार क्षेत्र जाने चोक मंगलबजारको चौबाटोमा पहिले ठूलो खोला थियो भनिन्छ। त्यो बेला हक नामको खोलामा मच्छिन्द्रनाथलाई धोती फेराइन्थ्यो। अहिले खोला नभए पनि धोती वा रुमाल फेराउने चलन भने  कायमै  छ।

सुन्धारादेखि लगनखेलसम्मको रथ यात्रालाई पाताल लोकको रथयात्रा मानिन्छ।सुन्धाराबाट हिँडाएको रथ थैनाहुदै लगनखेल पुर्‍याइएको छ। वैशाख शुक्ल अष्टमीका दिन सुन्धाराबाट रथ हिँडाउनुपर्ने मान्यता छ। सुन्धाराबाट तानिएको रथ दुई दिनमा लगनखेल पुर्‍याउनुपर्ने नियम रहेको, रातो मच्छिन्द्रनाथको साइत हेर्ने ज्योतिष दैवज्ञ कीर्तिमर्दन जोशीले जानकारी दिए।

पाताल लोकको रथयात्रा मानिने सुन्धारादेखि लगनखेलसम्मको रथ यात्रा कृषक ललित रथचक्रको स्मरणमा हुन्छ। यसलाई ललितपुरवासीको जात्रा मानिन्छ।

नयाँ