arrow

ईश्वर पोखरेलले प्रचण्डमाथि बारम्बार गरेको शंकाको संकेत के ?

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
dahal-sss.jpg

काठमाडौं । एकातिर पार्टी एकताको नाममा पूर्व एमाले र पूर्व माओवादीका कार्यकर्ताहरु खुशियालीमा छन्। समय समयमा दुबै पार्टीका अध्यक्षहरुले एउटै मञ्चमा उभिएर हात माथि उठाएर जनतालाई एकताको सन्देश पनि दिने गरेका छन् । तर, कुनै कुनै कार्यक्रममा उनीहरुको देखावटी एकता स्पष्टसँग झल्किन्छ । कुनैपनि पार्टीबीचको एकता उनीहरुको वैचारिक धरातलमा आधारित हुन्छ । भलै पार्टीले लिएको विचार र व्यवहारमा भिन्नता किन नआओस् । वैचारिक धरातल विनाको पार्टी न त सांगठनिक रुपमा बलियो हुन्छ । बैचारिक आधार त रहँदैन नै। 

दुई तिहाई मत प्राप्त सरकारको नेतृत्व गरिरहेको दल नेकपाको पनि हालत अहिले त्यस्तै छ । तल्लो तहसम्म एकताको सन्देश दिनको लागि पार्टीले सबै जिल्लामा अध्यक्ष र सचिवको नामावली सार्वजनिक त गर्यो । तर, यसमा पनि स्पष्टसँग पूर्व एमाले र पूर्व माओवादीको खेमा र भागवण्डा छुट्टियो । अझ केन्द्रमा हुने विवाद र बैमनस्यताले त झनै नेकपाको भविष्य माथि नै प्रश्न चिह्न खडा भएको छ । एकातिर प्रधानमन्त्री केपी ओली र प्रचण्डले एकताको सन्देश दिनको लागि संयुक्त सम्बोधन गरिरहँदा पोखरेलले भने पार्टी एकताको सुरुवातदेखि नै बारम्बार प्रचण्ड माथि शंका गरिरहेका छन् । यसको अर्थ पनि प्रचण्डले अन्तिममा वैचारिक र सांगठनिक रुपमा समेत पार्टी कब्जा गर्छन् कि भन्ने चिन्ता पोखरेलमा देखिन्छ ।

शुक्रबार नेकपाको एकता घोषणा भएको ठीक एक वर्ष पुग्दैछ । दुई वर्ष भित्र महाधिवेशन गर्ने कार्यदिशा लिएर अघि बढेको उनीहरुले एक वर्षसम्म त एकताको प्रक्रिया नै पूरा गर्न सकेका छैनन् । बरु एकतामा असन्तुष्टि जनाउनेको लहर बढ्दो मात्रामा देखिएको छ । नेताहरुबीच लामो समयदेखि गुम्सिएको असन्तुष्टिको भेल कहिलेकाहिँ बाहिरै छताछुल्ल हुन पुग्छ । एकताको पूर्वसन्ध्यामा बुधबार नेपाल युवा संघको वार्षिकोत्सव कार्यक्रममा पनि नेकपाका नेताहरुबीच असन्तुष्टिको पोको खोलियो । 

सो कार्यक्रमले बुधबारसम्म कायम मुकायम प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालेका रक्षामन्त्री ईश्वर पोखरेल र पार्टी अध्यक्ष प्रचण्डले दिएका अभिव्यक्तिहरुलाई सुक्ष्म अध्ययन गर्ने हो भने नेकपाको एकताको थप प्रक्रिया र आगामी भविष्यबारे पनि चिन्ता लिनुपर्ने अवस्था देखिन्छ । पार्टीका महासचिव विष्णु पौडेलले अबको केही घण्टामा एकताको प्रक्रिया पूरा हुने बताएपछि पार्टीका सचिवालय सदस्य पोखरेल र अर्का नेता माधव कुमार नेपालको अभिव्यक्तिले पनि पार्टीभित्र किचलो धेरै रहेको संकेत गरेको छ । 

महासचिव पौडेलले अबको केही घण्टामा नै एकताको अन्तिम काम पनि सकिने उद्घोष गरेको केही बेरमा नै बोल्न आएका पोखरेलले तत्काल गरेको एकताको कुनै अर्थ नै नरहेको बताए । उनले हिन्दी उक्ति 'दूरसे आए, दुरुस्त आए' भन्ने वाक्यांश प्रयोग गरेर विचारमा एक नभएसम्म एकता टुंगियो भनेर मख्ख नपर्न पनि सुझाव दिए । 

सोही कार्यक्रमको अन्त्यमा बोल्ने प्रचण्डले पनि 'एमालेका नेताहरु' भन्ने सम्बोधन गरेर एमालेका नेताहरुलाई आफूले छानी छानी प्रधानमन्त्री बनाउँदा पनि आफूलाई अस्थिर भन्ने उपमा दिएको प्रति असन्तुष्टि व्यक्त गरे । उनले एमालेबाट लोकतन्त्र पछि बनेका प्रधानमन्त्रीहरु आफूले बनाएको भएपनि उनीहरुले गुन विर्सिएको गुनासो गरे । उनको त्यो अभिव्यक्तिले पनि एउटै पार्टी हुँदा समेत तत्कालीन एमालेका नेताहरुले उनलाई अध्यक्ष जस्तो नमानेको संकेत मिलेको छ । यसले पनि शुक्रबार हुने भनिएको एकता प्रक्रिया महासचिव पौडेलले भनेजस्तो सहज नरहेको देखिन्छ । 

सोही कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा नेता माधव कुमार नेपालले बैचारिक कार्यदिशा विना पार्टीको एकता कसरी हुन्छ ? भनेर प्रश्न गरे । उनले स्पष्ट वैचारिक मार्गविना देश समाजवादको चरम विन्दूमा पुग्न नसक्ने उनको बुझाई थियो । सरकारको कामप्रति समेत असन्तुष्टि जनाउँदै नेता नेपालले नेकपा एक्लैको संसदमा दुई तिहाई नरहेको भन्दै जनताको पक्षमा काम गर्न नसके सरकार समेत समस्यामा पर्नसक्ने चेतावनी दिए । 

बिहीबारको त्यो स्पष्ट अभिव्यक्तिमा ईश्वर पोखरेलले एकतामाथि विभिन्न शंका उपशंका उब्जिने अभिव्यक्ति दिए । विचार, संगठन र नेतृत्वमा समेत एकता नभएसम्म यो एकताको कुनै औचित्य नरहेको तर्क गर्दै पोखरेलले विचारमा अस्पष्टता रह्यो भने एकातिर पार्टी एकताको खुशियाली मनाईरहँदा बैचारिक बेमेलले पहिलो दिनदेखि नै पार्टीलाई चिरा पार्नसक्ने चेतावनी समेत दिएका छन् । कम्युनिष्ट एकता जिन्दाबाद भनेर नारा लगाईरहँदा विचारमा एकता भएन भने यसले नेकपालाई ठूलो पार्टी त बनाउला । तर, यसले कम्युनिष्ट विचारको जीत गर्न भने नसक्ने ठोकुवा पनि उनले गरे । 

विश्वमा कम्युनिष्टहरुले शासनसत्ताकब्जा गरेपनि ती कम्युनिष्टहरुलाई पुँजीवादीहरुले एउटा पनि गोली प्रहार समेत नगरी तासको महल जसरी ढलाईदिएको उदाहरण दिँदै नेता पोखरेलले विचारमा स्पष्ट भए मात्रै नेपाली कम्युनिष्ट पार्टीले ती देशमा जस्तो हालत व्यहोर्नु नपर्ने बताए । 'यस्तै हालत हो भने नेकपा एकदिन विना हाँसको चाल न त कुखुराको दूर्गति भोग्नुको विकल्प हुँदैन' नेता पोखरेलले भने ।

उनले विचारको प्रश्न, संगठनको प्रश्नमा र नेतृत्वको प्रश्नमा एकता भन्दा पहिले नै स्पष्ट हुनसके मात्रै नेपाल कम्युनिष्ट पार्टीको धरातल बलियो हुने भन्दै देखावटी एकता गरेर सस्तो प्रचारबाजीमात्रै नगर्न पनि सुझाव दिएका छन् । इतिहासमा नै पहिलो पटक कम्युनिष्टहरुले यति ठूलो मत पाउँदा पनि हामीहरुले हाम्रो आचरण के हो ? भन्ने के गर्न हुने र के गर्न नहुने भन्ने कुरा स्पष्ट हुन सकेनौं भने यसले पार्टी एकताको जग नै कमजोर बनाउने उनको बुझाई छ । अहिलेको कम्युनिष्ट पार्टीहरु जेजे सजिलो लाग्छ त्यही बन्दै र गर्दै जाने गरेको आरोप पनि उनले लगाए । 

२ धार र तीन तरेलीको अवधारणा राख्ने पोखरेलले अभिव्यक्तिमा स्पष्टसँग जबजको कुरा नल्याए पनि उनले घुमाउरो पाराले जबजको विचारमा यो पार्टी लाग्नु पर्ने बताए । सोही अभिव्यक्तिलाई उनी भन्दा पछि बोलेका प्रचण्डले जबज स्वीकार गर्न नसक्ने उत्तर दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ