arrow

मदन भण्डारी र जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा, दुर्घटना रहस्यमै 

शान्तिपूर्ण रुपमा निर्वाचनबाट आफूलाई श्रेष्ठ सावित गरी जनताका पक्षमा सरकार चलाउने जबजको अन्तर्य हो जसमा मानवाधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, बहुमतको सरकार अल्पमतको प्रतिपक्षजस्ता प्रजातन्त्रका मर्महरु थिए ।  

logo
सञ्चिता घिमिरे,
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
madan-ashrit.jpg

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मदननगरमा विशेष कार्यक्रम आयोजना गरेर शुक्रबार स्मृति दिवस मनाउँदैछ ।     

 विसं २०५० जेठ ३ गते चितवन नजीकै दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा आयोजित जिल्ला अधिवेशनमा सम्बोधन गरेर चितवनमा आयोजना हुने कार्यक्रममा आउने क्रममा उनीहरु दुवैको ‘रहस्यमय’ निधन भएको थियो । 

जनआन्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय भण्डारी र मनमोहन अधिकारीले तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच विसं २०४७ मा एकीकरण गराएर नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । 

भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जबजको नीतिलाई तत्कालीन नेकपा एमालेले पछ्याउँदै आएको थियो । गत वर्ष पार्टी एकीकरणपछि पनि ‘जबज’ उत्तिकै सान्दर्भिक रहेको नेकपाका केही नेताहरुले बताउँदै आएका छन् । 

बहुलवादी राजनीतिमा सहभागी भएर आमनिर्वाचन २०४८ मा पार्टी देशको प्रमुख प्रतिपक्षका रूपमा स्थापित भएको थियो । लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्दा उनले मार्क्सवादमा नै आधारित जबज सिद्धान्त र कार्यक्रम प्रतिपादन गरेका थिए । 

शान्तिपूर्ण रुपमा निर्वाचनबाट आफूलाई श्रेष्ठ सावित गरी जनताका पक्षमा सरकार चलाउने जबजको अन्तर्य हो जसमा मानवाधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, बहुमतको सरकार अल्पमतको प्रतिपक्षजस्ता प्रजातन्त्रका मर्महरु थिए ।   
 
 नेकपाले आज पनि उनलाई उत्तिकै सम्मान र स्मरण गर्दै आएको छ । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जननेता भण्डारीलाई नेकपाले नेपालमा मार्क्सवादका व्याख्याकार र जबजका प्रणेताका रुपमा स्मरण गरिरहेको बताए । 

भण्डारीका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले जिकिर गरे । गत वर्ष पार्टी एकीकरणपछि पार्टीले जबजको सिद्धान्त अङ्गीकार नगरे पनि सारतत्व अङ्गीकार गरेको उनले औँल्याए ।

राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्ताले पनि भण्डारी र जबजको सिद्धान्त आत्मसात् गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “आफ्नो विचारलाई सुन्दर बनाएर भाषणका रुपमा जनतालाई बुझाउने अद्वितीय कला उहाँ (भण्डारी) मा रहेको पाइन्छ ।”    
 
 नेकपाका नेता ठाकुर गैरेले नेपालको वामपन्थी आन्दोलनमा भण्डारी र आश्रित दुवैको योगदान भिन्दै (युनिक) र ऐतिहासिक रहेको बताए । पार्टीमा कार्यक्रम, नीति र विचारका हिसाबले एक्लै होइन सबैसँग मिलेर अघि बढ्नुपर्छ भन्ने भण्डारीको भावनाबाट सबै राजनीतिज्ञले सिक्न सक्ने उनले औँल्याए । 

त्यस्तै युवा विद्यार्थीलाई सङ्गठित गरेर अघि बढ्दा सफल हुन सकिन्छ भन्ने उनको विचार प्रेणादायी रहेको गैरेको भनाइ छ । उनले भने, “उहाँमा भएका यिनै सकारात्मक पक्षले गर्दा उहाँ खुला राजनीतिमा छोटो समय बिताउँदा पनि सबैका प्रिय बन्नुभएको थियो ।” 
    
 गत वर्ष २५ औँ मदन–आश्रित स्मृति दिवसकै अवसरमा तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टीबीच एकीकरणको घोषणा भएको थियो । पार्टी एकीकरणको एक वर्ष फुगेका अवसरमा शुक्रबार मदननगरमा आयोजना हुने कार्यक्रममा पार्टीका सबै जनवर्गीय सङ्गठनको एकताको घोषणा हुँदैछ । पार्टी पोलिटब्युरो र केन्द्रीय सदस्यको कार्यविभाजनको टुङ्गो भने आइतबार लाग्ने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ