arrow

अमर लामा किन मारिए कमरेड प्रचण्ड ?

त्यो ‘रेशमी पर्दा’ कहाँ छ कमरेड ? ‘मदन भण्डारीका हत्यारा रेशमी पर्दा पछाडि लुकेका छन्

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
bishwa-prakash-sharma.jpg

काठमाडौं । २६ वर्ष भइसकेको छ एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा जीप दुर्घटनामा निधन भएको । त्यो दुर्घटना भवितव्य नभइ गराइएको बताइराखिएको छ । 

त्यो रहस्यमय मृत्युको अनुसन्धानका लागि टोली खटिए पनि त्यसले केही गर्न नकेन । तत्कालीन एमालेका तर्फबाट अहिलेसम्म निरन्तर चार जनाले सत्ताको नेतृत्व गर्दै सुखसयलमा जिन्दगी बिताएका छन् । 

मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भइसकेकी छिन् । 

तर जनताको बहुदलीय जनवाद भन्दै निकै चर्चित बनेका जनताका ढुकढुकी मदन भण्डारीका हत्यारा पत्ता लागेनन् । 

मदन भण्डारी दुर्घटनाका एकमात्र साक्षी त्यही गाडी दुर्घटनाका चालक अमर लामा थिए । घटना २०५० जेठ ३ को थियो । 

तिनै अमर लामा २०६० सालमा मारिए । उनलाई कीर्तिपुरमा तत्कालीन माओवादीले गोली हानी मारेको थियो । 

एमालेको घटना थियो । माओवादीले अन्त्य गरिदियो । मदन भण्डारीलाई माओवादीले मारेको त थिएन होला । फेरि किन मारिए अमर लामा ? 

यसको उठान फेरि पनि भएको छ । यसको उत्तर नआउन्जेल कम्तीमा हरेक वर्षको जेठ ३ मा माओवादीले जवाफ दिनै पर्छ । 

त्यतिबेलाको एमाले र माओवादी मिलेर अहिले पार्टी एकता गरेको पनि एक वर्ष भएको छ । नेकपा बनेको छ । तर मदन भण्डारीको हत्यारा पत्ता लागेन । 

यही प्रश्नलाई जगाउने प्रयास गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालीन माओवादीका अध्यक्ष एवं वर्तमानमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्दै सोधेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा भनेका छन्, ‘अमर लामा किन मारिए कमरेड प्रचण्ड ? तत्कालीन एमालेको ठहर थियो ‘षड्यन्त्र’ का मतियार हुन् अमर लामा, उनलाई सबै थाहा छ ।तर ती ‘सुत्र’ भनिएका लामालाई  गोलिले उडायो माओवादीले । एमाले–माओवादी एक भएपछि जरुरी छैन र यो छलफल कि ‘सत्य’ जो बाट थाहा लाग्थ्यो ति अमर लामा किन मारिए ?’

शर्माले प्रचण्डलाई मात्र हैन प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रश्न सोधेका छन् –त्यो ‘रेशमी पर्दा’ कहाँ छ कमरेड ? ‘मदन भण्डारीका हत्यारा रेशमी पर्दा पछाडि लुकेका छन्,तिनलाई हामी सत्तामा पुगेपछि बाहिर ल्याउंछौं’ एमालेले बनाएको छानबिन आयोगका तत्कालीन संयोजक केपी ओलीले प्रतिवेदन सार्वजनिक गर्दै यसै भन्नुभएको थियो ! त्यो प्रतिवेदन यतिबेला कहाँ छ ?’

शर्माले फेरि ट्वीटमा लेखेका छन् –‘फुल चढाउ अनि प्रश्न गर ! ईमानदार कार्यकर्ताले आज मदन–आश्रीतको तस्वीरमा फुल चढाएर कर्तव्य पूरा भएको ठान्नेछैनन् । प्रश्न तेर्स्याउने छन् आफ्नै सरकारलाई कि ‘रेशमी पर्दा पछाडि लुकेका’ दोषी कहाँ छन् ? अनि आफैलाई शोध्ने छन् प्रश्न –कहाँ थन्क्याइएको छ मदनको नासो बहुदलीय जनवाद ?’

शर्माले राष्ट्रपति र प्रधानमन्त्रीलाई सुझाव पनि दिएका छन् –मदन भण्डारीकि जीवन संगिनी यतिबेला रास्ट्रपति हुनुन्छ र एक सहयोद्दा प्रधानमन्त्री । दासढुंगालाई मुद्दा बनाएर हिजो जे बोलियो, जे गरियो आज सत्तामा भएका बेला आवेगमुक्त भएर त्यसको निरुपण जरुरी छ ! यो सुझाव नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धैर्यसंग दिन वाम बुद्धिजीवीहरुलाई मेरो विनम्र आग्रह !

र विश्वप्रकाश शर्माले अर्को ट्वीटमा लेखेका छन् – मदन भण्डारीलाई विशेष श्रद्धा गर्छु म । मेरो दलको नभएपनी मेरो देशले आस गरेको नेता हुनुन्थ्यो उहाँ । मनपर्ने खाजा मःम, मनपर्ने नेता विपि भन्नुहुने मदनले ‘जबज’ मार्फत ‘जड’ बाट ‘जिवन’मा ल्याउने प्रयत्न गर्नुभयो नेपालको कम्युनिस्ट आन्दोलनलाई ! मदन–आश्रीतमा हृदयले श्रद्धाञ्जली !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ