arrow

मिडिया विधेयकमाथि अधिकारकर्मीहरु भन्छन्, 'सरकार अधिनायकवादतर्फ उन्मुख'

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
patrakar-aandolan.jpg

काठमाडौं । मानव अधिकारकर्मीहरुले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको अगुवाईमा गरिएको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका अधिकारकर्मीहरुले यस्तो आरोप लगाएका हुन् । काठमाडौंको नयाँ वानेश्वरमा भेला भएर मुखमा कालोपट्टि बाँधेका सञ्चारकर्मीहरुले आफ्नो सञ्चार सामग्रीहरु समेत प्रदर्शन गरी आन्दोलनमा उत्रिए । 

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी सुन्दरमणि दीक्षितले सरकारको रवैयाविरुद्ध पत्रकार र अधिकारकर्मीहरु सडकमा उत्रिँदा २०६२/६३ को झल्को आएको बताए । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहित अन्य केही कानुनमा रहेका प्रावधान र सरकारको कार्यशैली विरुद्ध पत्रकार र अधिकारकर्मी सडकमा आउनु सामान्य अवस्था नरहेको उनको भनाई छ । दीक्षितले प्रेस र मानव अधिकारमाथि अंकुश लगाउन खोज्ने सरकारको प्रवृत्ति अधिनायकवादी रहेको भन्दै यसले सरकारको भविष्यमाथि नै कालो बादल मडारिएको बताए ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा भएको विरोध कार्यक्रममा ऐक्यवद्धता दिन आएका नागरिक अगुवा तथा मानव अधिकारकर्मीहरुले प्रेस स्वतन्त्रता र मानव अधिकारलाई संकुचित गरेर सरकारले आफ्नै खुट्टामा बन्चरो हानेको आरोप समेत लगाए । सरकारले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ सहित सबै पत्रकारहरु सम्मिलित संस्थाहरु यतिबेला विरोधमा छन् । 

अर्का मानव अधिकारवादी कपिल श्रेष्ठले आफू राजनीति शास्त्रको विद्यार्थी रहेको भन्दै सरकारको यो गतिविधिले अधिनायकवादको संकेत गरेको बताएका छन् । उनले पत्रकार र अधिकारकर्मी मिलेर गरिएको आन्दोलन अहिलेसम्म असफल नभएको भन्दै यो आन्दोलनले समेत आफ्नो लक्ष्य पूरा गरिछाड्ने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले संघीय संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धी प्रावधानलाई कुण्ठित गरेकोले यो आन्दोलन आवश्यक भएको बताए । उनले मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभएसम्म महासंघको आन्दोलन नरोकिने स्पष्ट पारे । उनले संसदमा दर्ता भएको विधेयकमा उल्लेखित प्रेस स्वतन्त्रता विरोधी प्रावधान नसच्चिएसम्म यो आन्दोलन जारी रहने उद्घोष पनि गरे । 

प्रदर्शनमा मानव अधिकारकर्मीहरु चरण प्रसाईं लगायत र पत्रकार महासंघका पदाधिकारीहरु विपुल पोखरेल, रामप्रसाद दाहाल लगायतले प्रेसलाई कुण्ठित गर्ने कानून स्वीकार्य नहुने तथा यो आन्दोलन कसैको विरुद्ध नभएर नागरिक स्वतन्त्रताको लागि भएको समेत बताए । प्रदर्शनमा सहभागीहरुले मुखमा कालोपट्टी बाँध्नुका साथै प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ