arrow

मदन स्मृति दिवसकै दिन केपी र प्रचण्डबीचको मतान्तरले जबजमाथि प्रश्न

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
kp-prachanda-sign-party-unification.jpg

काठमाडौं । तत्कालीन माओवादीसँग एकता गरेर जनताको बहुदलीय जनवादको सिद्धान्त छाडेको तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच जबजको विषयमा मतान्तर देखिएको छ । मदन स्मृति दिवसकै दिन राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले जबजलाई पार्टीले स्वीकार्ने विषयमा फरक फरक धारणा राखेका हुन् । 

२६ औं मदन आश्रित स्मृति दिवसको दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताए । शुक्रबार नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीको विचारलाई हुबहु स्वीकार्न नसकिने भन्दै यसलाई समय अनुसार परिमार्जन गर्नुपर्ने बताए । प्रचण्डले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिलाई विश्लेषण गरेर सोही अनुसारको नयाँ विचारलाई अघि ल्याउनुपर्ने बताएका छन् । यसरी प्रधानमन्त्रीले जबजलाई हुबहु स्वीकार गर्नुपर्ने भनिरहँदा प्रचण्डको अभिव्यक्तिले नेकपा भित्र विचार र सिद्धान्तको लडाईं चर्काे रुपमा हुने देखिएको छ ।  

अहिले नेकपाभित्र पार्टीको सिद्धान्तको आधारमा नै सहमति जुट्न नसक्दा अहिलेसम्म पार्टी एकताले पूर्णता पाउन सकेको छैन । तत्कालीन नेकपा एमालेका नेताहरु अहिले पनि पार्टीलाई जनताको बहुदलीय जनवादको सिद्धान्त अनुरुप चलाउनुपर्ने बताउँदै आएका छन् भने तत्कालीन माओवादीका नेताहरुले यो सिद्धान्त स्वीकार गर्न सकेका छैनन् । 

नेकपाका प्रमुख दुई नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धान्तको बारेमा खासै धेरै टिप्पणी गर्ने गरेका छैनन् । तर, उनीहरुले शुक्रबार दिएको अभिव्यक्ति भने पार्टी एकताको भविष्यको लागि अर्थपूर्ण मानिएको छ । पार्टी एकता दिवसको दुई दिन अघि बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा तत्कालीन नेकपाका दुई नेताहरु माधवकुमार नेपाल र ईश्वर पोखरेलले पनि पार्टीको सिद्धान्त र नेतृत्वको बारेमा कडा प्रतिक्रिया दिएका थिए । पार्टी एकताको वार्षिकोत्सवकै दिन दुई प्रमुख नेताहरुले फरक धारणा राखेका हुन् ।   

बुधबारको सो कार्यक्रममा पोखरेलले पनि अप्रत्यक्ष रुपमा जनताको बहुदलीय जनवादको पक्षमा नै वकालत गरेका थिए । पोखरेलको सोही अभिव्यक्तिलाई जोड दिने गरी प्रधानमन्त्री ओलीले भने 'मदन भण्डारीले अगाडि सारेको विचारधारालाई पार्टीले छाड्दैन। त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ । मदनको विचारलाई छाड्न मिल्दैन। यस विचारलाई छाडेर जाने कतारु यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस्।' उनले एकता प्रक्रिया केही दिनमा नै टुंगो लाग्ने समेत बताए । 

२ वर्ष भित्र महाधिवेशन गर्ने कार्यदिशा लिएर अघि बढेका उनीहरुले एक वर्षसम्म त एकताको प्रक्रिया नै पूरा गर्न सकेका छैनन् । बरु एकतामा असन्तुष्टि जनाउनेको लहर बढ्दो मात्रामा देखिएको छ । नेताहरुबीच लामो समयदेखि गुम्सिएको असन्तुष्टिको भेल कहिलेकाहिँ बाहिरै छताछुल्ल हुन पुग्छ । एकताको पूर्वसन्ध्यामा बुधबार नेपाल युवा संघको वार्षिकोत्सव कार्यक्रममा पनि नेकपाका नेताहरुबीच असन्तुष्टिको पोको खोलियो । 

सो कार्यक्रमले बुधबारसम्म कायम मुकायम प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालेका रक्षामन्त्री ईश्वर पोखरेल र पार्टी अध्यक्ष प्रचण्डले दिएका अभिव्यक्तिहरुलाई सुक्ष्म अध्ययन गर्ने हो भने नेकपाको एकताको थप प्रक्रिया र आगामी भविष्यबारे पनि चिन्ता लिनुपर्ने अवस्था देखिन्छ । पार्टीका महासचिव विष्णु पौडेलले अबको केही घण्टामा एकताको प्रक्रिया पूरा हुने बताएपछि पार्टीका सचिवालय सदस्य पोखरेल र अर्का नेता माधव कुमार नेपालको अभिव्यक्तिले पनि पार्टीभित्र किचलो धेरै रहेको संकेत गरेको छ । 

महासचिव पौडेलले अबको केही घण्टामा नै एकताको अन्तिम काम पनि सकिने उद्घोष गरेको केही बेरमा नै बोल्न आएका पोखरेलले तत्काल गरेको एकताको कुनै अर्थ नै नरहेको बताए । उनले हिन्दी उक्ति 'दूरसे आए, दुरुस्त आए' भन्ने वाक्यांश प्रयोग गरेर विचारमा एक नभएसम्म एकता टुंगियो भनेर मख्ख नपर्न पनि सुझाव दिए । 

सोही कार्यक्रमको अन्त्यमा बोल्ने प्रचण्डले पनि ुएमालेका नेताहरुु भन्ने सम्बोधन गरेर एमालेका नेताहरुलाई आफूले छानी छानी प्रधानमन्त्री बनाउँदा पनि आफूलाई अस्थिर भन्ने उपमा दिएको प्रति असन्तुष्टि व्यक्त गरे । उनले एमालेबाट लोकतन्त्र पछि बनेका प्रधानमन्त्रीहरु आफूले बनाएको भएपनि उनीहरुले गुन विर्सिएको गुनासो गरे । उनको त्यो अभिव्यक्तिले पनि एउटै पार्टी हुँदा समेत तत्कालीन एमालेका नेताहरुले उनलाई अध्यक्ष जस्तो नमानेको संकेत मिलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ