arrow

ललिता निवास प्रकरणबारे रावल भन्छन् - आफ्नो नाममा नामसारी गर्ने काम आपत्तिजनक

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
rawal-poudel.jpg

काठमाडौं ।  ललिता निवासको जग्गा प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले जुनसुकै व्यक्तिले जुनसुकै परिस्थितिमा पनि यदि सार्वजनिक  सम्पत्ति आफनो स्वामित्वमा लिने प्रयास गरेमा उसमाथि कारवाही गरेर उक्त सम्पत्ति सरकारको अधीनमा आउने गरी फिर्ता हुनुपर्ने बताएका छन् ।

“बालुवाटारजस्तो संवेदनशील प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासको जग्गा कुनै व्यक्तिले आफ्नो नाममा नामसारी गर्ने काम आपत्तिजनक विषय हो । कानूनी शासन, सभ्य समाज र जनताप्रति उत्तरदायी शासन प्रणालीको दृष्टिकोणबाट पनि यो गलत छ”,  पूर्व उपप्रधानमन्त्री रावलले भने ।

यसअघि बालुवाटार प्रकरणमा आलोचित बनेका नेकपा महासचिव विष्णु पौडेलले दोषी ठहर भए आफू कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

संसदमा बोल्दै उनले ‘ललिता निवास प्रकरणमा मेरो र केही पूर्व प्रधानमन्त्री ज्यूहरुको नाम जोडिएको प्रति मेरो आपत्ति छ । यसको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न म सरकारसँग जोडदार माग गर्दछु ’ भनेका थिए ।

साथै पार्टी स्थायी कमिटी सदस्य रावलले सकारको कामकारवाहीको मूल्याङ्कन एवं राष्ट्रिय महत्व र जनसरोकारका विषयमा छलफलका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठकको माग गरेका छन् । बैठक नबोलाइँदा कार्यकर्ता पङ्क्ति र पार्टीलाई  क्षति पुर्‍याउने जनाउँदै उनले  छिटोभन्दा छिटो बैठक बोलाएर छलफल गर्न  पार्टी नेतृत्वसँग आग्रह गरे।

नेता रावलले भने,“ गत वर्षको जेठ ३ गते हामीले पार्टी एकता गर्‍यौँ, तीन महिनाभित्र पार्टी एकीकरण गर्ने निर्णय भएको थियो, त्यो हुन सकेन, स्थायी समितिले पुसभित्रै पार्टी एकीकरणको सम्पूर्ण काम पूरा गर्ने र फागुनमा देशव्यापी अभियान चलाउने भनेकोमा त्यो पनि भएन, कार्यान्वयन किन भएन भनेर बैठक बोलाउनु स्वाभाविक कुरा हो ।”

पार्टीको विधानमा तीनतीन महिनामा स्थायी कमिटीको बैठक बस्ने प्रावधान रहेको जनाइएको छ । “बैठक नबसेका कारण सरकारको कामको मूल्याङ्कन गर्ने काम हुन सकेको छैन, यो बीचमा धेरै नै महत्वपूर्ण राष्ट्रिय महत्व र जनसरोकारका विषय आएका छन् तर हाम्रो पार्टीमा ती विषयले प्रवेश पाएर गहन छलफल भएको छैन । यो स्थितिलाई परिवर्तन गरेर महत्वपूर्ण विषयमा गहन छलफल हुनुपर्छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ