arrow

सूचना महामार्ग निर्माण शुरु

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
sabel-pm.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं ४ मासटारमा सोमबार शिलान्यास गरेका छन् ।   दूरदराजका जनतालाई सूचनाको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको हो । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले आजदेखि ‘अप्टिकल फाइबर’ बिछ्याउने काम अगाडि बढाएको हो ।

धादिङको गल्छी, धनकुटाको हिले र सिन्धुलीको खुर्कोटबाट एकैसाथ फाइबर बिछ्याउने कार्य शुरु गरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म फाइबर बिछ्याउने कार्यक्रम रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३५ जिल्ला सदरमुकामसम्म उक्त फाइबर पुग्नेछ । शुरुआती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

उक्त सूचना महामार्गको आज गल्छी गाउँपालिका–४ मासटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि सूचना र प्रविधि नै हो । विश्वलाई एउटा कुनामा सीमित पारिदिन आधुनिक सूचना प्रविधिको उच्चतम प्रयोगबाटै समृद्धिको यात्रालाई सार्थक बनाउने अपेक्षा गर्न सकिन्छ ।

सरकारले देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुर्‍याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो ।

सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक शुरुआत भएको छ ।

सरकारको उक्त परियोजनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत करीब रु नौ अर्ब लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो । सोही योजनाअनुसार प्रदेश १ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई रु चार अर्ब ८८ करोड जिम्मा दिएको थियो । यस विषयमा विसं २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा युटिएल तथा कर्णाली र सुदूरपश्चिममा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् ।

त्यस्तै अप्टिकल नेटवर्क विस्तारका लागि आवश्यक डिडब्लुडिएम उपकरण र राउटरका लागि पनि टेलिकमले सम्झौता सम्पन्न भएको जनाएको छ । प्रदेश नं २ अन्तर्गतका सबै जिल्लामा भने १८ महीनामै काम पूरा गर्ने प्रतिबद्धता कम्पनीको छ ।

टेलिकम आफैले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य शहरमा नौ महीनाभित्रै उच्च गतिको ब्याण्डविथ उपलब्ध गराउन सकिने अवस्था छ । अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्याण्डविथ प्रवाह गर्न सकिन्छ । तामा (कपर)को तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ ।

सरकारी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै सेवामा पारदर्शिता ल्याउने उद्देश्य पूरा गर्न यो एउटा बलियो आधार हुनेछ । त्यस्तै ई हेल्थ, ई लर्निङ जस्ता सुविधामा आम जनताको पहुँच पुर्‍याउन पनि यो सहयोगी हुनेछ । सञ्चार मन्त्रालयको तत्काल सुधार कार्ययोजना–२०७२ मा ग्रामीण दूर सञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाललाई देशव्यापी विस्तार गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा ब्रोड ब्याण्ड सेवा पुर्‍याउन पूर्वाधारको विकास गर्ने लक्ष्य लिइएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रप्रसाद मिश्रले डिजिटन नेपाल फ्रेमवर्कको पहिलो खुड्किलो भएको उल्लेख गर्नुभयो । सरकारले अघि सारेको डिजिटल नेपालको अवधारणालाई सार्थक बनाउन कनेक्टिभिटी चाहिन्छ । त्यो पनि चाँडो फाष्ट त्यसका लागि अप्टिक फाइबर प्रविधि उपयुक्त हुन्छ । यो प्रविधिले गाउँगाउँसम्म सूचना सञ्जाल विस्तार गर्न मद्दत पुग्छ ।

दूरदराजका जनताले सहजै केवल टिभी नेट सञ्चालन गर्न सक्छन् । यो सूचना महामार्गको रुप हो जसलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण शहरदेखि दुर्गम गाउँसम्म विस्तार गरिनेछ । यसले चौथो पुस्ताको मोबाइल सेवा पनि सुविधा पुग्नेछ ।  डिजिटल नेपालको आठ आधारमध्ये पहिलो डिजिटल फाउण्डेशनमा अप्टिकल फाइबर महत्वपूर्ण पाटो बन्ने सहसचिव मिश्रको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ