आफ्नो पोल्टामा नपर्दै राष्ट्रपतिले विवादास्पद विधेयकबारे किन लिइन् चासो ?
प्रकाशित २०७६ जेठ ८ बुधबार
471
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पोल्टामा नपर्दै संसदमा विवादास्पद बनेका विधेयकमाथि चासो राखेकी छिन् । उनले संसदमा छलफलमै नआएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकबारे छलफल गरेकी हुन् ।
गत सोमबार उनले कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई शीतल निवासमा बोलाएर चासो राखेकी हुन् । सामान्यतया संसदले पारित गरी प्रमाणिकरणका लागि पठाएपछि राष्ट्रपतिले त्यसमा गहन अध्ययन गरेर त्यसलाई प्रमाणिकरण गर्ने कि नगर्ने भनी निर्णय गर्ने चलन छ ।
सरकारले हचुवाका भरमा ल्याएको कुनै विधेयक भए त्यो रोकिने राम्रो माध्यम त्यतिबेला बन्छ । त्यो अधिकार राष्ट्रपतिमा निहित हुन्छ । राष्ट्रपतिले त्यतिबेला सच्याएर ल्याउन समेत भन्न सक्ने अधिकार हुन सक्छ ।
तर विधेयकबारे संसदमा छलफलमा नजाँदै राष्ट्रपतिले किन चासो दिइन् ? भन्ने प्रश्नले धेरैलाई सताउन थालेको छ । नेकपाका एक सांसदले भने, ‘उहाँले यसबारे सामान्य बुझ्नमात्र खोज्नुभएको हो । राष्ट्र प्रमुखले परिस्थिति बुझ्न खोज्नुलाई नराम्रो नजरले नहेरौं ।’
सो क्रममा राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको राहदानी विधेयक–२०७५ बारेसमेत चासो राखेकी छिन् ।
सरकारलाई सचेत
राष्ट्रपतिको यो पूर्वतयारीलाई लिएर सरकार भने झस्किएको छ । राहदानी विधेयक राष्ट्रपति समक्ष आइसक्दा त्यसबारे छलफल गर्नु स्वभाविक भए पनि संसदमा छलफलमा नआइसकेको विषयमा समेत चासो राख्दा सत्तारुढ दल झस्किएको छ ।
तर सरकारले पारित गरेका सबैजसो निर्णय राष्ट्रपतिबाट फिर्ता नभएकाले पनि राष्ट्रपतिले बुझ्न खोज्नु र प्रमाणिकरण गर्नुमा फरक हुने पनि ती नेकपा सांसदको दावी छ ।