arrow

जबजका नेतृत्वकर्ता ईश्वर पोखरेल नै हुन् त ? 

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
Ishwor-Pokharel.jpg.jpeg

काठमाडौं । बहुदल आएपछि नेकपा एमाले चर्चामा आएको थियो भने त्यो हो उसको नयाँ सिद्धान्तका कारण । तत्कालीन एमाले महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तका कारण । 

सिद्धान्तले पार्टीलाई जोड्ने काम गर्छ । प्रत्यक्ष जनता जोडिएको सिद्धान्तले गर्दा मदन भण्डारी एकाएक चर्चामा आएका थिए । उनको चर्चा यति चुलियो कि नेकपा एमाले भन्नासाथ केवल मदन भण्डारीमात्र रहे । 

मदन भण्डारी २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परेर मरे । त्यो दिनपछि एमालेमा जबजको झनै ठूलो चर्चा भयो । 

मदन भएका भए यस्तो हुन्थ्यो र उस्तो हुन्थ्यो भन्ने चर्चा भयो । मदन भण्डारीले पाएको शिखरकै कारण उनको हत्या भयो भन्ने चर्चा चल्यो । 

एमालेले काँग्रेस नेतृत्वको सरकारले मार्यो भन्यो भने सरकार यसमा आफै स्तब्ध भयो कि यो घटना हत्या थियो वा भवितव्य दुर्घटना । एमालेले आफूले जसरी पनि हत्यारा पत्ता लगाउने भनिरह्यो । 

मदन भण्डारी नरहेपछि त्यो मुद्दा थाँतिमा रहेकै बेला ०५१ सालमा आफ्नो नेतृत्वमा पहिलो पटक एमाले सरकारमा गयो । नौ महिना सरकारमा बसेपछि एमालेका नेताहरुमा सत्तामोह पलायो । 

अनि न त जबजको विषयले ठाउँ पायो न त मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको कुरा आयो (दुवैको संगसंगै निधन भएको थियो दासढुङ्गा दुर्घटनामा) । 
 
आरोह अवरोह चलिरहँदा पछिल्लो समय फेरि जबजको चर्चा चल्न थालेको छ । त्यो पनि एमाले र नेकपा माओवाली केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएपछि । 

जबजलाई ब्यूँताउने पक्षमा रहे पूर्व एमाले महासचिव एवं वर्तमान नेकपाका प्रभावशाली नेता एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल ।

उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा रहेका समयमा कार्यबाहक प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेका बेलामा कुरा उठाएका थिए ।

पार्टी अध्यक्ष नभएको मौकामा जसरी ईश्वर पोखरेलले यो विषयलाई उठान गरेका छन् । पक्कै पनि यसले नेकपाभित्र तरङ्ग ल्याएको छ । अनि एमालेजनलाई झक्झक्याएको छ । र, ओलीलाई पनि वाध्यकारी बनाएको छ । ओलीले पनि त्यही लाइनमा बोलिसकेका छन् । 

ईश्वर पोखरेलको बेमौसममा मौसमी झटारो 
पार्टीले नयाँ मोड लिएर निकै अगाडि बढिरहेका अवस्थामा ईश्वर पोखरेल किन पछाडि फर्कन खोजे त ? नेकपाका तत्कालीन एमाले निकट एक केन्द्रीय सदस्यका अनुसार यो महाधिवेशन झटारो हो । 

यो झटारोले एमालेजनलाई एकीकृत गर्न सघाउ पुर्याउने उनको विश्वास छ । नेकपाले पार्टी एकताको दुई वर्षभित्र महाधिवेशन गर्ने भनेको छ । एक वर्ष एकता पनि पूरा नभइ बितिसकेको छ । 

अबको एकवर्षभित्रै महाधिवेशन हुने सम्भावना न्यून छ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले एक वर्षलाई बढाएर डेढ वर्षसम्म पुर्याउन सकिने बताएका छन् । 

अर्कातिर नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यही अवस्थामा चुनाव गराउने मनस्थिति ल्याएका पनि छैनन् । किनकि उनको पक्षमा माहोल बन्ने देखिएको छैन । आफ्नै एमालेभित्रका नेताहरु पनि ओलीसंग रुष्ट छन् । 

त्यसैले ओलीले पनि ईश्वर पोखरेलको बोलीमा ‘पोलिस’ लगाएको विश्लेषण गरिएको छ । कम्तीमा तत्कालीन एमालेका नेताहरु त जबजबाट टाढा हुने छैनन् भन्ने तर्क उब्जिएको हुन सक्छ । 

अर्कातिर माओवादी केन्द्रबाट नेकपामा मिसिएका नेताहरुको भने यसमा फरक राय छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रगमनतिर गइरहेको पार्टीलाई फेरि पछाडि फर्काउन नहुने उनको तर्क छ । 

प्रचण्डले पार्टी निकै अगाडि बढिसकेकाले फेरि जबजमा अल्झिन नहुने उनको तर्क छ । हुनत नेकपा यतिबेला विचारविहीन छ । 

विचारको राजनीति महाधिवेशनमै गर्ने भनेर एमाले र माओवादी गत वर्षको जेठ ३ गते मिलेका हुन् दुई वर्षभित्र महाधिवेशन गर्ने भनेर । एक वर्ष बिना विचार नै पार्टी चल्यो । अबको एकभित्र महाधिवेशन हुने सम्भावना न्यून छ । तसर्थ अबको एक वर्ष विचारविहीन तरिकाले नै पार्टी चल्नेछ । 

तर विचारको किचलो उठिसकेपछि अब मत्थर हुन सक्भावना छैन । यसको सुरुआत ईश्वर पोखरेलले गरेका छन् । वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु सुस्ताएका बेलामा ईश्वर पोखरेल नै किन अगाडि सरे त ? 

जबजका नेतृत्वकर्ता ईश्वर पोखरेल मात्रै हुन् त ? भन्ने सवाल त उठेको छ नै अर्कातिर पूर्व एमाले पक्षहरु मिल्नका लागि पनि पोखरलले यो कदम चालेका हुन सक्छन् । 

अर्कातिर अहिलेसम्म अवसरमात्र बोकेर हिँडेको माओवादी पक्षले आफ्नो साम्यवाद र माओवादलाई कुनै कुनामा थन्क्याइसकेको छ । यही ‘वाद’ नै विवादको चुरो बनेको छ । के ईश्वर पोखरेलले विचारविहीन पार्टीलाई फेरि पुनर्जागरण गर्न खोजेकै हुन् त ? 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ