नेपालमा बढ्दो ईसाईकरणप्रति सशंकित चीनले के भन्यो राष्ट्रपति भण्डारीलाई ?
प्रकाशित २०७६ जेठ ८ बुधबार
644
Shares
काठमाडौं । गत पौष १० गते चेन्गदू प्रान्तमा स्थित चीनकै सबैभन्दा ठूलो चर्चमाथि सरकारले नै आक्रमण गर्यो । क्रिसमसको पूर्व सन्ध्यामा गरिएको त्यो अर्थपूर्ण आक्रमणमा एक जनापनि मान्छे त मारिएन । तर, त्यो विशाल चर्चलाई क्षण भरमा नै ध्वस्त गराईएको थियो । विश्वभर ईसाईहरुको मूल पर्व क्रिसमस मनाईरहेको बेला चीनले भने ईसाईहरुमाथि गरेको त्यो आक्रमण चीनमा एक दशक यताकै सबैभन्दा ठूलो सरकारी आक्रमण भनिएको छ । त्यो आक्रमणसँगै चीनमा धेरै चर्चहरु बन्द समेत गराइए ।
अहिले जसरी नेपालमा चर्चहरुमार्फत् जवर्जस्ती धर्म परिवर्तन गराउने र आर्थिक प्रलोभनमा नेपाली संस्कृतिमाथि आक्रमण हुने गरेको छ । त्यसरी नै चीनमा पनि पाश्चात्य संस्कृतिको उत्थानका लागि चर्चहरुले तीब्र अभियान चलाईरहेका छन् ।
न्यूयोर्क टाइम्समा छापिएको एक रिपोर्ट अनुसार चीनको सबैभन्दा ठूलो मानिने प्रोटेस्टेन्ट चर्चमा क्रिसमस सेलिब्रेशनको तयारी हुँदै गर्दा सबैजनालाई बाहिर निकालेर चर्चमाथि डोजर चलाईएको थियो । जुन चर्च चेङ्गदूको दक्षिण पश्चिमी शहरमा अर्लि रेनको नामले समेत चिनिन्छ । चीनको यो आक्रमणलाई ईसाईहरुले एक दशकको सबैभन्दा ठूलो आक्रमण भनेका छन् ।
त्यतिबेला चिनियाँ प्रहरीले सो प्रान्तमा रहेका सबै बाइबललाई समेत जफत गरे । चर्चद्वारा चलाईएका स्कूलहरुलाई बन्द गरिए भने विभिन्न स्थानमा तोडफोडका लागि उक्साएको आरोपमा अर्लि रेनका पादरीलाई समेत हिरासतमा राखियो।
यसरी आफ्नो देश भित्र खतराको रुपमा ईसाईहरुमाथि कारबाही गरेको चीनले नेपालमा बढिरहेको ईसाईकरणलाई समेत आफ्नो सुरक्षा चुनौतीको रुपमा लिएको बुझिएको छ । बैशाख ११ गतेदेखि ९ दिनको लागि चीन भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि चीनले यस विषयमा चासो व्यक्त गरेको थियो । फर्किने बेलामा राष्ट्रपति भण्डारीलाई नेपालमा फैलिएको ईसाईकरणले चीनलाई समेत चुनौती थपिएको भन्दै यसलाई नियन्त्रण गर्नको लागि सुझाव दिएर पठाएको नेकपा निकट स्रोतले जनाएको छ ।
विशेषगरी इसाईकरणसँगै आउने पश्चिमाकरणको नेपालमा विस्तार हुँदै जाँदा उनीहरुको गतिविधिमा पनि बढोत्तरी हुने र यसले समग्रमा चीनलाई सुरक्षा चुनौती समेत बढ्नेमा चीनले चासो देखाएको बुझिएको छ । चीनले समय समयमा नेपाल सरकारलाई बढ्दो ईसाईकरण रोक्नको लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पनि दबाब दिँदै आएको छ । यहाँको ईसाईकरणले उत्तरमा चीन र दक्षिणमा भारतलाई समेत चुनौती थपेको विषयमा समय समयमा नेपालमै पनि आवाज उठ्ने गरेको छ । तर, विशेषगरी नेपालमा ईसाईकरण बढाउन सकेमा चीन र भारतलाई समेत प्रभावित गराउन सक्ने देखेर पश्चिमा विभिन्न संस्थाहरुले ठूलो मात्रामा नेपालमा रणनीतिक रुपमा लगानी गरिरहेका छन् । यसलाई नेपाल सरकारले भने नजर अन्दाज गरेको देखिन्छ ।
केही महिना अघि नेपालमा भएको 'होली वाईन' नामले चर्चित ईसाईकरणलाई सहयोग गर्ने एशिया प्यासिफिकको सम्मेलनबाट पनि सरकारसँग चीन सशंकित भएको समाचार त्यतिबेला पनि चर्चामा थियो । नेपालमा सो सम्मेलन सम्पन्न भईसकेपछि नै चीनले ईसाईमाथिको त्यति ठूलो आक्रमण गरेको थियो । सुरक्षा चुनौतीसँगै आफ्नो संस्कृति लोप हुने सम्भावना समेत देखेर चीनले यस विषयमा धेरै चासो देखाउने गरेको छ।
ईसाईकरणबाट किन खतरा महसूस गरिरहेको छ चीन ?
चिनियाँ राष्ट्रपति शी चिनफिङ्ग नास्तिक कम्युनिष्ट भएपनि क्रिश्चियन धर्मालम्बीहरुद्वारा चीनलाई दूरगामी रुपमा संकट पैदा हुनसक्छ भन्ने कुरामा चिन्तित छन्। चिनियाँ कम्पुनिष्ट पार्टीले पनि इसाईहरुलाई पार्टीको नियन्त्रणमा लिन धेरै पहिलेदेखि माग गर्दै आएको छ ।
चीनको सरकारले अघिल्लो वर्ष मात्रै चीनभरी बाइबलको अनलाइन बिक्रीमाथि समेत प्रतिबन्ध लगाएको थियो । यो काम पनि इसाईहरुलाई राज्यको नियन्त्रणमा ल्याउने प्रयास स्वरुप नै भएको बताईएको छ । पार्टीको विश्लेषण अनुसार इसाई धर्म चीनमा तीब्र रुपमा फैलिइरहेको छ । जुन धर्मले पश्चिमी संस्कृतिलाई बढावा मात्रै दिएको छैन । चीनको राज्यसत्ताको स्वरुप विरुद्ध समेत मोर्चाबन्दी चलिरहेको बुझिएको छ । किनकी संसारका सबैभन्दा संगठित भनिएका कम्युनिष्ट भन्दा पनि संगठित चर्च अन्तर्गत परिचालन हुने क्रिश्चियन अनुयायी हुन् भन्ने कुरा चीनले राम्रोसँग बुझेको छ ।