राष्ट्रपति भण्डारीले राहदानी विधेयक संसदमा फिर्ता पठाइन्
प्रकाशित २०७६ जेठ ९ बिहिबार
191
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएकी छिन् । सभामुख कृष्णबहादुर महराले प्रमाणीकरणका लागि पठाएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी बुधबार प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन्।
सभामुख महराले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाएकामा राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार गर्न भन्दै फिर्ता पठाएकी हुन्।
राहदानी विधेयकलाई राष्ट्रिय सभामा नपठाइ सीधै राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाइएपछि विरोध भएको थियो ।
राष्ट्रपति भण्डारीले यसअघि केही कानुनी सांसदहरुसंग राय लिएकी थिइन् । सरकारले पठाएको विधेयक राष्ट्रपतिले सहजै प्रमाणीकरण गर्ने अनुमान विपरीत फिर्ता पठाएकी हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक र मानवअधिकार सम्बन्धी विधेयक पनि संसदमा पेश गर्दैछ । राष्ट्रपतिको यो कदमपछि सरकार हच्किने सम्भावना देखिएको छ ।