arrow

आरुबोटेमा हत्या भएका सबैको दाहसंस्कार गरियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ जेठ ९ बिहिबार
panchthar-group-murder-arubote.jpg

पाँचथर। गत सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेमा भएको सामूहिक हत्याको शवको आज दाहसंस्कार गरिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी ल्याएको शवको आज दुई ठाउँमा पोष्टमार्टम गरिएको हो ।

धनराज शेर्माको परिवारलाई आफनै घर मिक्लाजुङ २ साविक सराङडाँडा गाविस वडा नम्बर ६ बतासेमा दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।

यस्तै बम बहादुर फियाकको परिवार भने आरुबोेटेमै दाहसंस्कार गरिएको छ । उनीहरुको दाहसंस्कारका लागि मिक्लाजुङ गाउँपालिकाले एक लाख रुपैया रकम समेत सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरुण राईले बताएका छन् ।

मिक्लाजुङ ३ आरुबोटेमा राती ९ जनाको सामूहिक हत्या भएको थियो । उक्त घटनामा परेर धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको थियो ।

हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सिकुमारी फियाक बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुमको भने अहिले दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने मिक्लाजुङ ८ को लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रहरीले भने थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले हत्यामा संलग्न भनिएका मानबहादुर बाहेक अन्यको पनि चौतर्फी खोजी भइरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ