arrow

भारतीय रेल छिट्टै काठमाडौं पुग्छ, चिनियाँ रेल त कल्पनामात्रै होः भाजपा नेता कोश्यारी

'मोदीले अब ईपिजीको प्रतिवेदन बुझ्नुहुन्छ, मैले कुरा गरें'

logo
ऋषि धमला
प्रकाशित २०७६ जेठ ११ शनिबार
Bhagat Singh.jpg.jpeg

नयाँ दिल्ली। नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) का भारततर्फका पूर्व संयोजक एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोश्यारीले नेपालमा भारतको रेल छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन् । 
नयाँ दिल्लीमा कुराकानीका क्रममा उनले जतिसक्दो चाँडो नेपालमा भारतीय रेल पुर्याउने बताएका हुन् । उनले भने, हामी जतिसक्दो चाँडै काठमाडौंसम्म भारतीय रेल पुर्याउँछौं । त्यसको लागि मैले पनि स्वयम मोदीजीसँग कुरा गरेको छु । 

कोश्यारीले नेपालमा चिनियाँ रेल आउने कुरा कल्पनामात्रै भएको टिप्पणी गरे । फरक प्रसँगमा उनले आफूहरु सम्मिलित ईपिजीले तयार पारेको प्रतिवेदन भारत सरकारले छिट्टै ग्रहण गर्ने सुनाए । उनले भने,“यो प्रतिवेदन भारत सरकारले बुझ्छ, त्यहीअनुसारको अहिले गृहकार्य भैरहेको छ । भारतमा नयाँ विदेशमन्त्री आएपछि म कुरा गर्छु । प्रतिवेदनले नेपाल भारत सम्बन्धका सबैखाले विषयवस्तु र समस्याहरुको सम्बोधन गर्छ । मोदीले प्रतिवेदन बुझ्ने कुरामा मलाई पूरापुर विश्वास छ ।”

प्रतिवेदनलाई लिएर भारतको कुनै विरोध तथा असन्तुष्टि नरहेको पनि उनले दाबी गरे । “१९५० को सन्धिदेखि कालापानी सिमा विवादसम्मका कुरा हामीले प्रतिवेदनमार्फत अघि समाधानको उपाय सारेका छौं” उनले भने,“यी सबै विषयमा हामीले सहमति खोजेका छौं । प्रतिवेदनमा सबै कुरा समेटेका छौं ।”

भारत र बंगलादेशबीच विगतमा रहेका सबैखाले समस्याहरु तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बडो कुशलताका साथ समाधान गरेझैं नेपाल र भारतबीच रहेका सबै समस्याहरु समाधान हुने उनको विश्वास छ । 

कोश्यारीले मोदीलाई नेपाल र नेपालीहरुको हृदयमा बस्न सफल राजनेताको संज्ञा दिए । उनले भने,“उहाँले नेपालीहरुको हृदय जित्नुभएको छ । अब केही बाँकी रहेका सानातिना समस्याहरुपनि उहाँले हल गर्नुहुन्छ भन्नेमा हामी ढुक्क छौं ।” मोदीले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धमा आमूल सुधार गरेर चमत्कार नै गर्ने पनि उनले दाबी गरे । 

त्यस्तै उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले मिलेर नै काम गर्नेपनि जनाए । उनले भने,“उहाँहरुबीच एकदमै राम्रो सम्बन्ध छ ।” 

नेपाल धार्मिक रुपमा पनि उतिकै महत्व देश भएकोले यहाँ धर्मको आस्था, विश्वास, महत्व र प्रभाव रहेको पनि उनले सुनाए । उनले भने,“नेपालमा कुन धर्म मान्ने या नमान्ने, कस्तो धर्म राख्ने भन्ने कुरा यो स्वयम नेपाल र नेपालीहरुले तय गर्ने कुरा हो । यसमा भारतले कुनै चासो राख्दैन् । हामी हस्तक्षेप गर्ने पक्षमा छैनौं ।”

चीनले नेपालमा हस्तक्षेप गर्दा नेपालीहरु कसैले पनि त्यसको विरुद्धमा बोल्न नसकेको पनि उनले गम्भिर आरोप लगाए । कोश्यारीले थपे,“चीन, युरोपियनलगायतले नेपालमा खुलेआम हस्तक्षेप गर्दा कोही पनि नेपालीहरु बोल्नै सक्दैनन् । तर, भारतसँग यति घनिष्ठ सम्बन्ध हुँदापनि जहिल्यैपनि विरोध गर्ने गरिएको छ ।”

नेपाल र भारत दुई दाजुभाईकोजस्तो सम्बन्ध रहेकोले कहिलेकाहीँ समस्या आउनु स्वभाविक भएको पनि उनले टिप्पणी गरे । नेपालले अब सडक, पूर्वाधारलगायतको विषयमा द्रुत गतिमा काम गर्नुपर्ने पनि कोश्यारीले सुझाए । नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले यसमा भारतको पूर्ण साथ र सहयोग रहनेपनि उनले विश्वास दिलाए । 

उनले भने,“नेपालले अब एक वर्षमा गर्ने कामहरु ६ महिनाभित्रै गर्नुपर्छ । कामको गति बढाउनुपर्छ । भारतमा मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । अब नेपाल र भारतबीचको सम्बन्ध समृद्धिको लागि पनि सहकार्य गरेर अघि बढ्ने आएको छ ।” 

नेता कोश्यारीले भारतमा मोदी प्रधानमन्त्री बन्दा विश्वभरि नै खुशियाली छाएकोले नेपालपनि खुशी रहेको सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ