नयाँ दिल्ली। भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष एवम् निवर्तमान सडक यातायात तथा हाईवे, पानीजहाज तथा जलस्रोतमन्त्री नितिन जयराम गड्करीले नेपालमा हिन्दूराष्ट्र बनाउने कुरामा आफूहरुको कुनै चासो नरहेको स्पष्ट पारेका छन् ।
आइतबार विहान नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । गड्करीले नेपालले कस्तो नीति लिने ? कुन धर्म अपनाउने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएकोले त्यसमा भारतले कुनै दख्खल नदिने जिकिर गरे ।
उनले भारत नेपालको विकास द्रुत गतिमा होस भन्ने पक्षमा रहेको र सोहीअनुसार साथ, सहयोग गर्दै आएको जनाए । नेपालको उर्जा क्षेत्रको विकासमा भारतले भरपुर सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए । भारतमा नरेन्द्र मोदी पूनः दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेकाले आगामी दिनमा नेपाल भारत द्धिपक्षीय सम्बन्ध अझ सुमधुर हुने पनि गड्करीले विश्वास दिलाए ।
नेपाल र भारतबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा यसले अझै नयाँ उचाई लिनेपनि उनको भनाई छ । नेपालको भौतिक पूर्वाधार तथा निर्माण विकासमा भारतको ठूलो सहयोग रहनेपनि उनले जनाए ।