काठमाडौं । काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । सोमबार नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा भएको बम विस्फोट सोही समूहले गराएको हुनसक्ने आशंका नेपाल प्रहरीले गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुका अनुसार बम विस्फोट भएको केही पर घट्टेकुलोमा विप्लव समूहको पर्चा भेटिएकोले सोही समूहले विस्फोट गरेको हुनसक्ने आकलन प्रहरीले गरेको हो । यद्यपि सुकेधारामा पड्किएको बस्तु बम नभई सिलिण्डर रहेको बताईएको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार अहिलेसम्म यो घटना कसले घटाएको भन्नेबारेमा केही जानकारी आएको छैन ।
काठमाडौं क्षेत्र नम्बर ४ स्थित सुकेधाराको ढलाने पुल नजिकै एक शैलुनमा अज्ञात बस्तु पड्कदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । नाजुक अवस्थामा रहेका एक घाइतेको उपचारका क्रममा अस्पताल लैजादै गर्दा निधन भएको हो । घाइते पाँच जनाको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल पुर्याइएका घाइतेको त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था नाजुक रहेको छ।
विस्फोटमा निधन भएका एकको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ । दोस्रो शव भने प्रहरीकै नियन्त्रण घटनास्थलमा रहेको हाम्रा सहकर्मी माधव चम्लागाईले जनाएका छन् ।