डर र हिंसाले सुख, शान्ति र दिगो रूपान्तरण ल्याउदैनः विवेकशील नेपाली दल
नेपाल वन्द हैन खुला राख्न माग
प्रकाशित २०७६ जेठ १३ सोमबार
314
Shares
काठमाडौं। डर र हिंसाको बाटोले सुख, शान्ति र दिगो रूपान्तरण नल्याउने विवेकशील नेपाली दल प्रष्ट पारेको छ। २०७६ जेठ १२ गते काठमाडौँ लगायत देशका विभिन्न स्थानमा भएको श्रृंखलावद्ध बम विस्फोटको घटना पछि सोमबार विज्ञप्ती निकाल्दै दलले आफ्नो धारणा सार्वजनिक गरेको हो। दलका प्रवक्ता मिलन पाण्डेले विज्ञप्ती निकाल्दै बम विष्फोटको भर्त्सना गरेका छन्। पाण्डेले जारीगरेको वक्तव्य यसप्रकार रहेको छः
२०७६ जेठ १२ गते काठमाडौँ लगायत देशका विभिन्न स्थानमा भएको श्रृंखलावद्ध बम विस्फोटको घटनाको विवेकशील नेपाली दल घोर भर्त्सना गर्दछ। विस्फोटबाट भएको मानवीय तथा अन्य क्षतिले चौतर्फी त्रास उत्पन्न भएको प्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ।
हामी विस्फोटमा ज्यान गुमाएका सम्पूर्ण आत्माको चिर शान्तिको कामना गर्दछौँ। साथै, घाइतेहरूको उपचार एवं पीडितका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत नेपाल सरकारलाई अनुरोध गर्दछौँ। विस्फोटको घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कडा कानुनी कारबाही अघि बढाउन हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ।
बुद्धको देश भनेर चिनिने हाम्रो शान्ति भूमिमा कुनै पनि समस्याको समाधान डर( त्रास, हिंसा ( प्रतिहिंसा हुनै सक्दैन भन्ने विवेकशील नेपालीको दृढ विश्वास रहको छ।
यदि राजनीतिक उद्देश्य पूर्ति गर्ने बहानामा यी विवेकहीन गतिविधिहरू गरिएका भए हामी प्रस्टसँग आफ्नो भनाइ राख्न चाहन्छौँ( अशान्तिको बाटोले शान्ति तथा दिगो समाज रूपान्तरण आउँदैन। यो कुरा हाम्रो आफ्नै देशको अनुभव तथा विश्व राजनीतिको अध्ययनले पनि देखाउँछ। सरकारलाई पनि शान्तिपूर्ण असहमतिका आवाजहरूलाई वार्ता र संवादद्वारा जिम्मेवारीपूर्ण ढङ्गले सुनुवाइ गर्न अनुरोध गर्दछौँ। निषेध अनि प्रतिबन्धले समाधान दिँदैन।
नियम कानुनको परिधिमा रही शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी सेवक सरकारको हो । सरकारका विभिन्न निकायहरूको उपयुक्त परिचालनको अभावमा नै यी घटना भएकाले यस्ता घटनाहरू हुन नदिनको लागि चुस्त रूपमा त्यस्ता निकायहरूको परिचालन गर्न हामी ध्यानाकर्षण गराउन चाहन्छौँ ।
अन्त्यमा आम नागरिकको चुलोमै प्रभाव पर्ने ‘नेपाल बन्द’ जस्ता हडताल नागरिकको हिँडडुलको स्वतन्त्रता र गरी खान पाउने मौलिक हकको हनन हो। यसको विकल्प खोज्न समेत विवेकशील नेपाली दल सम्बन्धित पक्षहरूलाई अनुरोध गर्दछ। नेपाल सदैव खुल्ला राखौँ ।