arrow

के गर्लान् मधेश केन्द्रित दलले संविधानसभा पदक ?

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
rajapa3.JPG

काठमाडौं । संविधानसभाबाट संविधान बनाए बापत यही जेठ १६ गते बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफुसहित ११०९ जना पूर्व सभासदहरुलाई संविधानसभा पदकबाट विभूषित गर्दैछन् । 

विभूषित हुने पदक ग्रहणका लागि प्रवेशपत्र लिने म्याद मंगलबार सकिँदैछ । कपितय पूर्व सभासदले प्रवेशपत्र लिइसकेका छन् । तर मधेश केन्द्रित दलहरुले भने अझै निधो गर्न सकेका छैनन् के गर्ने भनेर । 

संविधान जलाउनेहरुलाई तक्मा ? 
२०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएलगत्तै आन्दोलनमा उत्रिएर नाकाबन्दीसम्मको ६ महिने आन्दोलन गरे, मधेश केन्द्रित दलहरुले । उनीहरुले अझैसम्म पनि संविधानलाई पूर्ण स्वीकार गरिसकेका छैनन् । 

तिनै दलका पूर्व सभासद, सांसदहरुलाई पनि सरकारले संविधानसभा पदक दिइनेको सूचीमा सूचिकृत गरेको छ । सरकारले, संविधानसभाबाट संविधान बनाए बापत पूर्व सभासदहरुलाई विभूषित गरिने भनेको छ । तर जुन दलहरुले संविधानसभामा अबरोध गर्दागर्दै र विरोध गरिरहँदा रहँदै संविधान जारी गरियो, के उनीहरु फेरी तक्मा थाप्न जालान् ? 

हामीले यही प्रश्न राष्ट्रिय जनता पार्टीका एकजना अध्यक्ष राजेन्द्र महतोलाई सोध्यौं । शुरुमा उनी हाँसे हाहाहा...ऽऽऽ । अनि थपे, ‘हेर्नुस् जुन संविधानसभाले बन्दुकको आडमा बलजफ्ती संविधान ल्याएयो, हामीलाई आन्दोलनमा पठायो, हामी अहिले केको आधारमा तक्मा लिने ?’ 

उनले अगाडि थपे, ‘हामीले यो संविधानलाई पूर्ण रुपमा स्वीकारेका छैनौैं । त्यसैले तक्मा लिने काम गरिन्न । तर उनले यो पनि थपे, आज हाम्रो राजपाको अध्यक्ष मण्डलको बैठक छ, बैठकले निर्णय लिन्छ,  यो विषयमा ।’

राजपाकै अर्का नेता लक्ष्मण लाल कर्णले भने यो विषयलाई सामान्य रुपमा लिएका रहेछन् । उनले भने, ‘यो गणतन्त्र दिवसको दिन दिन लागिएको हो, गणतन्त्र ल्याउन हाम्रो पनि ठूलो भूमिका छ । त्यसैले पदक लिँदा के फरक पर्छ र ?’

राजपाका महासचिव मनिषकुमार सुमनले भने सरकारले तक्मा बाँडेर नियोजित र षडयन्त्रपूर्वक आफुहरुलाई फसाउने रणनीति लिएको भन्दै कुनै हालतमा पदक थाप्न जान नहुने अडान राखे । उनले भने, ‘हामीले शीर्ष नेताहरुलाई कुनै हालतमा पदक ग्रहण गर्न हुँदैन भनेर दबाब दिइरहेका छौं । पदक लिन हुँदै हुँदैन ।’ 

राजपाकै अर्का अध्यक्ष राजकिशोर यादवले यो गम्भीर विषय भएकोले आज मंगलबार बस्ने पार्टी बैठक अघि केही भन्न नसक्ने बताए । 

सत्तारुढ नवगठित समाजवादी पार्टी नेपाल (पूर्व संघीय समाजवादी फोरम) ले पनि यो विषयमा कुनै निर्णय लिन सकेको छैन । समाजवादी फोरमबाट चुनाव जितेका पर्सा १ का सांसद प्रदीप यादवले भने पूर्व सभासदहरु पदक थाप्न गए जनताप्रति अन्याय हुने भन्दै आपत्ति जनाए ।

आफुहरुलाई संविधानलाई पूर्ण स्वीकार गरिनसकेको अबस्थामा नेताहरु पदकको चक्करमा परेमा जनविरोधी हुने र जनताले बहिष्कार गर्ने चेनावनी दिए । संविधानसभा पदक लिने नलिने बारे मंगलबारै पार्टीले निर्णय लिने पनि उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ