प्रधानमन्त्री कार्यालयमा तत्काल समस्या समाधान कक्ष
प्रकाशित २०७६ जेठ १५ बुधबार
384
Shares
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को शुभारम्भ भएको छ । कक्षको प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात प्रदेशका मुख्यमन्त्री एवं मन्त्रीसँग भिडियो संवाद गरी शुरुआत गरे।
मुख्यमन्त्री एवं मन्त्रीले सम्बन्धित प्रदेशको आफ्नै कक्षबाट भिडियो संवाद गरेको कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेले जानकारी दिए।
प्रधानमन्त्री ओलीले आजको कुराकानीमा गणतन्त्र दिवसको शुभकामना दिनुका साथै आजै सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेटका बारेमा कुराकानी गरेका थिए । कक्षका माध्यमबाट राष्ट्रिय गौरवका विकास आयोजनाको आवश्यकताअनुसार वास्तविक समय अनलाइन अनुगमन प्रणाली शुरु गरिने जनाइएको छ ।
पहिलो चरणमा मेलम्ची, माथिल्लो तामाकोशी, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा, भेरी बबईलगायत सिँचाइ आयोजनाको अनुगमन गरिनेछ । कक्षमा पूर्ण हाइडेफिनेसन गुणस्तरसहितको ७० इञ्चको ‘डिस्प्ले’, ‘स्पीकर ट्रयाकिङ’, ‘अटोफोकस’सहितको उपकरण जडान गरिएको छ ।
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनसम्बन्धी विभिन्न विषयमा प्रत्यक्ष संवाद गर्ने, विकास निर्माण आयोजनाको प्रगति तथा विपद् व्यवस्थापनसम्बन्धी काममा तत्काल राहत र उद्धार गर्न सकिने प्रणाली स्थापना गरिएको उपसचिव घिमिरेले बताए ।