काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने क्रममा बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ अभिवादन गर्दै ।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई बधाई तथा शुभकामना दिन नयाँदिल्ली गएका हुन् । दोस्रो कार्यकाल थाल्दै गरेका मोदीले बिहीबार बेलुकी राष्ट्रपति रामनाथ कोविन्द समक्ष शपथ लिँदै छन् । ओली सोही कार्यक्रममा सहभागी हुनेछन् ।
मोदीले शुक्रबार आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ। उनले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर पनि छलफल गर्नेछन् ।
मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्तो गरेका थिए भने यसपटक बिम्स्टेक सदस्य राष्ट्रलाई बोलाएका छन् ।
ओली र मोदीबीच शुक्रबार दुई देशबीचको दुईपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ। प्रधानमन्त्री ओली सार्क अध्यक्षसमेत रहेकाले सार्कको विषयलाई उठाउने विश्वास गरिएको छ ।
यसपटक छिमेकी राष्ट्र पाकिस्तानलाई भारतले बोलाएको छैन । अबको सार्क पनि पाकिस्तानमै हुनुपर्ने छ । त्यसैगरी नेपाल भारत सम्बन्ध मजबुद बनाउन र विभिन्न सन्धी सम्झौतामा पुनराबलोकन गर्न गठीत प्रबुद्ध व्यक्ति समूह ईपीजीले तयार पारेको प्रतिवेदन बुझ्ने विषयमा समेत कुराकानी गर्न सक्नेछन् ।
ईपीजीको नेपाल पक्षतर्फका दुई सदस्यमध्ये एक निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूत हुन् भने अर्का डा राजन भट्टराई परराष्ट्र सल्लाहकार हुन् । दुवै जना ओलीसंग छलफलमा सहभागी हुनेछन् ।