ओली मोदीको सपथग्रहणमा सहभागी, शिष्टाचार भेट हुँदै, मोदीलाई भ्रमणको निम्तो
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
541
Shares
काठमाडौं । नरेन्द्र मनोहरदास मोदीले भारतको १५औँ प्रधानमन्त्रीका रूपमा बिहीबार बेलुकी सपथग्रहण गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उनलाई सपथग्रहण गराएका हुन् । सपथग्रहण समारोहमा शिर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरूसहित झण्डै आठ हजार जना सहभागी भएका थिए ।
विश्वका विभिन्न देशका नेताहरुलाई आमन्त्रण गर्ने क्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी वङ्गालको खाडीको प्रयास बिमस्टेकका सदस्य राष्ट्रका सरकार प्रमुखलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरेका थिए । बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि मोदीको शपथ ग्रहण कार्यक्रममा सरिक भएका छन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बिहीबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका थिए ।
उनलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिव विजयकेशव गोखलेले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य पनि छन् ।
भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुन् ।
प्रधानमन्त्री ओलीको शुक्रबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री ओली शुक्रबार अपराह्न साढे ५ बजे स्वदेश फर्कर्ने छन् । यसअघि भारतको लोकसभाको निर्वाचनमा मोदीको विजयपछि सन् २०१४ मा पहिलो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेपालबाट सरिक भएका थिए ।
मोदीलाई भ्रमणको निम्तो
ओली र मोदीबीच शिष्टाचार भेट हुँदै गर्दा यो बेला नेपालले कुनै एजेन्डा लिएर गएको छैन । तर सार्क राष्ट्रका अध्यक्षका नाताले ओलीले यो विषयमा कुरा उठाउन सक्ने बताइन्छ ।
त्यसैगरी प्रवुद्ध वर्ग समूहले तयार पारेको प्रतिवेदन बुझेर त्यसका सल्लाहलाई मानेर अगाडि बढ्ने बारेमा उनले स्मरण गराउन सक्नेछन् ।
कुनै सहमति वा सम्झौता नहुने बताइएको उक्त शिष्टाचार भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनेछन् । यो भ्रमणमै विभिन्न सम्झौता हुन सक्नेछन् ।
ओलीकै कार्यकालमा दुई पटक आइसकेका मोदीले अबको भ्रमणलाई पनि विशेष बनाउन सक्ने देखिएको छ ।
मोदीको पहिलो विदेश भ्रमण भने माल्दिभ्स हुन सक्ने भारतीय संंचारमाध्यमहरुले जनाइरहेका छन् ।