arrow

अलैँचीको भाउ पर्खदै इलामका किसान

logo
टीका खतिवडा
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
alaichi.jpg.jpeg

 इलाम । इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैँची बेचेका छैनन् । करीव चार मन अलैँची उत्पादन गरेका उनले भाउ बढ्ने आशामा अलैँची नबेचेका हुन् । अलैँची रोप्दाको समयमा पाँच वर्ष अघि प्रतिमन अलैँचीको मूल्य करीव एक लाख रुपैयाँ थियो ।

“के के न होला भनेर लगाइएको अलैँची ऐले भाउ नभएरै मार्‍यो,” उनले भने । हुन त हाल पनि अलैँचीको भाउ नभएको भने हैन । तर पहिलाको तुलनामा एक चौथाइ पनि भाउ छैन । दैनिक भाउ ओरालो लागिरहेकाले गर्दा उनलाई चिन्ता छ । घरमै राख्दा पनि अलैँचीको तौल घटिरहने भएकाले पनि थप चिन्ता लागेको उनी बताउछन् ।

पहिले एक मन अलैँची बेच्दा एक वर्ष भन्दा बढी समयका लागि चामल र परिवारका लागि कपडा किनेर पनि पैसा उब्रिने गरेको किसान खतिवडाले सुनाए। अहिले भने एक मन अलैँचीले एक महिनाको परिवारको खर्च पनि चल्न मुश्किल छ ।   

माइजोगमाई गाउँपालिकाका अलैँची ब्यापारी मोहन पोख्रेलले पनि दुई वर्ष अघिदेखि खरिद गरेको अलैँची बेचेका छैनन् । अलिक भाउ बढ्ला र अलैँची बेचौँला भन्ने आशामा रहेका उनले भाउ बढेको हैन घट्दै गएको मात्र खबर सुन्ने गरेका छन् । “अब त भाउ बढ्ला कि भन्यो झन् झन् भाउ घटेको मात्र सुनाउँछन्,” उनले भने ।

उनिहरु जस्ता धेरैले अलैँची बेचेका छैनन् । कारण हो कम भाउ । अलैँचीको भाउ झर्दा जिल्लाका धेरै किसान र ब्यापारीहरु अलैँची बेच्न सकिरहका छैनन् ।  इलामसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्यमा निरन्तर कमी आएसँगै यहाँका किसान तथा ब्यापारीहरुमा निराशाा पैदा भएको छ । उत्पादनमा वृद्धि हुनु र भारतको एकाधिकारयुक्त बजार भएका कारण वर्षैभरि मूल्यमा कमी आएका हो ।

पाँच वर्ष अघि प्रतिमन एक लाख ४० हजार रुपैयाँ  मूल्यसम्ममा बिक्री भएको अलैँची अहिले २२ देखि २८ हजार प्रतिमन खरिद बिक्री भइरहेको छ । दैनिक जसो नै भाउ घटबढ भइरहेको हुन्छ ।

जिल्लाको मुख्य नगदे बालीको रुपमा रहेको अलैँचीको अहिलेको मूल्य १० वर्ष यताकै कम भएको ब्यापारीहरु बताउँछन् । बार्‍है महिना अलैँची खरिद बिक्री भइरहे पनि अलैँची कारोबार हुने अन्तिम समयका रुपमा चैत्र महिनालाई लिइन्छ । यस यामसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसानहरु हतास भएका हुन् ।

यस यामको शुरुमा पनि प्रतिमन अलैँचीको मूल्य ३२ हजार रुपैयाँ थियो । भाउ बढ्छ भन्ने आशाले घरमै थन्क्याइएको अलैँचीको मूल्य निरन्तर घटी मात्रै रहेको माइजोगमाईका ब्यापारी मोहन पोख्रेलले बताए ।

गत वर्ष उत्पादन भएको अलैँची किसानले घरमै थन्क्याएर राखेका छन् । ब्यापारीहरुले खरिद गरेको अलैँची पनि गोदाममै थन्क्याइएका छन् । यस वर्षको शुरुमा पनि ब्यापारीहरुले प्रतिमन ३२ हजार रुपैयाँसम्मले खरिद गरेको अलैँची भाउ बढ्ने आशाले अहिलेसम्म गोदाममै थन्क्याएर राखिराखेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मात्रिका घिमिरेले बताए । देउमाई नगरपालिकास्थित मंगलबारे बजारका ब्यापारी घिमिलेले उत्पादन बढ्दै जाँदा भाउ घट्नु स्वाभाविक नै रहेको बताए ।

उनले महङ्गो मूल्यमा खरिद गरेको अलैँची भाउ घटेपछि बेच्न नसकेको बताए । अलैँची असार अन्त्य अन्त्यतिरदेखि बजारमा आउन थाल्छ । औल क्षेत्रमा छिटो र लेक क्षेत्रमा मङ्सिर महिनासम्ममा मात्र अलैँची सुकाएर तयार पार्ने हुन्छ । अलैँची कारोबार हुने मुख्य याम असोज र कात्तिक हो । ती महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखिएका अलैँची यामको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै बेच्नु पर्ने बाध्यता आइलागेको किसानहरु बताउँछन् ।

विगतका वर्षहरुमा अलैँचीमा विभिन्न खालका प्रकोपको सामना गरेका अलैँची किसान अहिले आएर प्रकोपको मात्रा हटे पनि मूल्य बर्षेनी ओरालो लाग्दै जाँदा घाटा खानुपर्ने स्थिति आएको बताउँछन् । नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । तर, नेपाल र भारत दुबै देशमा अलैँचीको आन्तरिक उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम नरोकिएको अलैँची ब्यबसायी बताउँछन् ।

अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । जिल्लाका १० स्थानीय तहमा व्यावसायिक रूपमा अलैँची खेती हुँदै आएको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमीनमा उत्पादन हुने अलैँची हाल जिल्लामा एक हजार ६०० हेक्टर जग्गामा खेती हुने गरेको अलैँची विकास केन्द्र फिक्कलको तथ्याङ्क छ । अलैँची बढी उत्पादन भएपछि भाउ घटेको विज्ञको भनाइ छ । चाहिँदो जति अलैँची भारतका विभिन्न भूभागमै उत्पादन हुनु, अलैँचीमा नक्कली अलैँची (चुरुम्फो) मिसाइनु लगायतका कारण पनि यस्तो समस्या आएको ब्यापारीहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ