arrow

रविन्द्रलाई केपीले दिए मरणोपरान्त क्लिन चीट, ' भुईंफुट्टाहरुले मात्र आरोप लगाएका हुन् '

लालगेडी जस्ता थिए रविन्द्र

logo
प्रकाशित २०७६ जेठ १८ शनिबार
kp-rabindra-son-pokhara.jpg

पोखरा। “आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रविन्द्र अधिकारी ” शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्वर्गीय रविन्द्र अधिकारीका बारेमा यसो भने । 

सभागृहमा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि सभामा प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्दै स्वर्गीय अधिकारीको बारेमा त्यती मात्र भनेर रोकिएनन्  “मैले रविन्द्रलाई २०३९ सालमा चिने देखि जतिपल्ट भेटें नमुस्कुराएको चेहरा कहिले देखिन । जस्तै समस्या आएपनि हसिलो मुहार उनको पहिचान थियो ” प्रधानमन्त्रीले भने । 

मञ्चको दाँयाबाँया रविन्द्रका हसिला तस्विर टाँगिएका थिए । ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । रविन्द्रबारे प्रधानमन्त्रीले भावुक हुंदै भने “रविन्द्रले जींउदो हुन्जेल कसैका आँखामा आँसु आउन दिएनन् । मरेपछि कसैका आँखा पनि आँसु बिनाका भएनन् ।”

चिनेको ३५ बर्षपछि आफ्नै मन्त्रिपरिषदको सदस्य भएपछि रविन्द्रसँग झन् धेरै सामिप्य भएको प्रधानमन्त्री ओलीले स्मरण गरे। “जतिसुकै संकट पर्दा पनि प्रशन्न चित्तको मान्छे” प्रधानमन्त्री ओलीले भने “मेरो मन्त्रिपरिषदमा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो ।”

रविन्द्रले छोटो समयमा लामा पदचाप छोडेर गएको प्रधानमन्त्री ओलीले बताए । “ रविन्द्रको यात्रा छोटो भयो तर लामा पदचाप छोडेर जानुभयो ” प्रधानमन्त्री ओलीले भने “उहाँले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ ।”

वाइडबडीमा रविन्द्र निर्दोष 

प्रधानमन्त्री ओलीले रविन्द्र मन्त्री हुनुभन्दा अगावैको वाइडबडीको बिषय झिकेर रविन्द्रलाई बद्नाम गर्न खोजिएको बताए । रविन्द्र अधिकारी र वाइडबडीका बिषयमा प्रधानमन्त्रीले कार्यक्रममा यसो भनेः 

मैले एउटा प्रसंगमा बोल्ल्दा भने वाइडबडी काण्डमा रविन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडिका कुराहरुको प्रशंग ल्याएर  उहाँको नाम बद्नाम गर्न कोशिश भयो र मैले भने उहाँ त्यस मामिलामा निर्दोष हुनुहुन्छ । एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई सारै पोलेछ । वहाँ निर्दोष । वास्तवमा निर्दोष हुनुहुन्छ । मैले त्यही कुरा भने । कुनै सम्बन्धै छैन । केही भुईंफुट्टा तत्वहरु, केही भुईंफुट्टा संस्थाहरु प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरिकन निर्दोष छ भन्न पाइन्छ भन्न थाले । अदालतले फैसला नगरिकन चाँही दोषी छ भन्न पाइन्छ त ? म तिनीहरुलाई भन्न चाहन्छु ,आरोप लगाउन पाइने ।  संलग्न नै नभएका कुरामा निर्दोष छ भन्न नपाइने ? ति भुईंफुट्टा संस्थाहरुले नेकपाका पदाधिकारीलाई जोगाउन प्रधानमन्त्रीले निर्दोष छ भन्नुभयो भने । को हुन् ति न्यायधिसहरु ? त्यही भूंइफुट्टाहरुले मिलेर तथाकथित संस्था गठन गरो अनि तेसो भन्न पाइन्छ ? निर्दोष भन्न पाइन्छ भन्ने ? निर्दोषलाई निर्दोषलाई निर्दोष भन्न  किन पाइदैन ?  त्यसकारण रविन्द्र अधिकारी एउटा स्वच्छ आचरण भएको,स्वच्छ छवि भएको कर्मठ क्रियाशिल व्यक्ति हो । पहिले नेकपा एमालेको नेता कार्यकर्ता पछि नेकपाको नेता कार्यकर्ता । वहाँ अनुशासित, इमान्दार पार्टी कार्यकर्ता हो । पार्टीको नेतृत्वका विरुद्ध,निर्णयका विरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो ।  

सभामा अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले १ करोड रुपैंया उपलब्ध गराउने प्रधानमन्त्री ओलीले घोषणा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ