arrow

कचनकवलको इतिहास नमेटाउन माग गर्दै ज्ञापनपत्र

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
kachankabal_jhapa.jpg

झापा ।

समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको ऐतिहासिक स्तम्भ भत्काएर कचनकवल गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेकाले स्थानीय युवा विरोधमा उत्रिएका छन् ।

विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र यहाँ आउँदा सिमेन्टको कछुवाको आकृतिको जगमा स्तम्भ निर्माण गरिएको थियो । सोही स्तम्भ जीर्ण भएको भन्दै गाउँपालिकाले भत्काएर नयाँ बनाउन लागेपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । उनीहरुले आजै झापा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका थिए ।  

बनियानी युवा क्लबले बुझाएको ज्ञापनपत्रमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला पक्षले स्थलगत निरीक्षण गरी ऐतिहासिक सम्पदाको इतिहास मेटाउने काम तुरुन्त रोकी तिनको जगेर्ना गरेर  मात्र निर्माण कार्य अगाडि बढाउन माग गरिएको छ ।

सो ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बुझेका थिए । ज्ञापनपत्र बुझेलगत्तै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ऐतिहासिक सम्पदा भत्काएर नयाँ बनाउँदा इतिहास मेटिने भएकाले गाउँपालिकाका अध्यक्ष अञ्जार आलामसँग फोनमार्फत चासो व्यक्त गरेका थिए ।  

सो स्तम्भमा भएको कछुवाको सट्टा माछाको आकृतिमा स्तम्भ राख्न गुरुयोजना बनाएको गाउँपालिकाले गत मङ्गलबार शिलान्यास पनि गरेको थियो । नयाँ स्तम्भको शिलान्यास गरिएपछि स्थानीयवासीले गाउँपालिकाका अध्यक्ष आलमको विरोध गर्दै आएका थिए ।

गाउँपालिकाका अध्यक्ष आलामले स्तम्भको नभएर कचनकवललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पञ्चवर्षीय गुरुयोजनाको शिलान्यास गरिएको बताए । उनले भने, “अहिलेको मूल स्तम्भ बिगार्दैनौँ तर त्यसको वातावरण हामी पूरै नयाँ र प्राकृतिक बनाउँछौँ ।” उनले चार बिघा १० कठ्ठा जग्गामा रहेको तलाउभित्र स्तम्भ राख्ने र स्तम्भको आधारशिलाका रुपमा २० फिट लामो माछाको आकृति राखिने गुरुयोजनामा उल्लेख भएको बताए ।  माछाको आँखाको बीच भागमा स्तम्भ ठडिएको हुने उहाँको भनाइ थियो ।

गाउँपालिकाले पारित गरेको गुरुयोजनामा कचनकवलको दुई हजार २०० वर्गमिटर क्षेत्रफललाई तलाउले घेरेर सुन्दर पार्क बनाइने उल्लेख छ । हाल नजिकै रहेको केचना बजारदेखि स्तम्भसम्म पुग्न दुई हजार २०० मिटर कच्ची मोटर बाटो छिचोल्नुपर्छ । रु २० करोडको लागतमा बन्न लागेको गुरुयोजनामा केचना बजारबाट डुङ्गा चढेर स्तम्भ अवलोकनका लागि जान सकिने गरी तलाउ निर्माण गरिने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ